नेकपा एमाले निकट भातृ संगठनहरुले संविधान निमार्णका लागि विभिन्न दवाव कार्यक्रमहरु जारी राखेका छन् । आइतबार प्रेस चौतारी नेपाल केन्द्रीय कमिटि र देशैभरिका जिल्ला कमिटिहरुले दवाव स्वरुप जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् । माघ ८ मै संविधान जारी गरि जनतासँग गरिएको प्रतिवद्धता पुरा गर्नुपर्ने माग सहितको ज्ञापन पत्र हरेक जिल्ला प्रशासन मार्फत सभामुख समक्ष पेश गरिएको प्रेस चौतारी नेपालका अध्यक्ष राजेन्द्र अर्यालले जानकारी दिनुभयो । प्रेस चौतारी केन्द्रीय कमिटी र काठमाडौ जिल्ला कमिटीले पनि राजधानी काठमाडौमा प्रदर्शन सहित ज्ञापन पत्र बुझाएको थियो ।
यसैबीच एमाले भातृ संगठन युवा संघ नेपालले ललितपुरमा नमुना जनमत संकलन गरेको छ । ललितपुरको लगनखेल चोकमा आयोजना गरिएको जनमत संकलन कार्यक्रममा माघ ८ भित्रै संविधान चाहिन्छ या ढिला भन्ने प्रश्नपत्र तयार गरेको थियो । माघ ८ भित्रै संविधान जारी गराउन दवाव स्वरुप जनमत संकलन गरिएको युवा संघ प्रवक्ता प्रभातविक्रम कटुवालले जानकारी दिनुभयो । जनमत संकलनमा सर्वसाधारणको उल्लेख्य सहभागीता रहेकाले आजै यसको परिणाम समेत घोषणा गरेर संविधान सभामा त्यसको जानकारी गराइने कटुवालले जानकारी दिनुभयो ।