काठमाडौं । लामो समयदेखि जारी कर्णाली प्रदेशको राजनीतिक संकटमा नयाँ खुलासा भएको छ । प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले सरकारबाट बाहिरिने संकेत गरेका छन् । उनले आइतबार बिहानै फेसबुकमार्फत ३२ महिने कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

असोज २५ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्व नेकपा संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता भएसँगै उत्पन्न विवादले कर्णालीको मन्त्रिपरिषद् पुनर्गठन हुने अनुमान गरिएको छ । स्रोतका अनुसार मुख्यमन्त्री शाहीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका ३ जनालाई सम्‍भवतः आइतबारै मन्त्री बनाउँदैछन् ।

शनिबार साँझ मन्त्रिमण्डल पुनर्गठनको खाका तयार भएको र केन्द्रीय राजनीतिको हस्तक्षेप नभए ओली पक्षका मन्त्रीलाई हटाएर पुनर्गठन हुने मुख्यमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।

त्यसो गर्दा अहिले रहेका प्रधानमन्त्री ओली पक्षका रावल र नन्दसिङ बुढा सरकारबाट बाहिरिने पक्का भएको छ । यही सम्भावनाबीच मन्त्री रावलले आफ्नो भनाइ सार्वजनिक गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । उनले राजीनामा भने दिएका छैनन् ।

सांसद यामलाल कँडेलको अगुवाइमा दर्ता भएको अविश्वासको प्रस्तावबाट नेपाल पक्षका ७ जनाले हस्ताक्षर फिर्ता लिएपछि कात्तिक ७ गते उक्त प्रस्ताव अस्वीकृत भइसकेको छ ।

अविश्वास प्रस्ताव असफल बनाउने सन्दर्भमा नेपाल–दाहाल पक्षबीच भएको सहमतिअनुसार मन्त्रिमण्डल पुनर्गठन हुन लागेको नेपाल समूहका एक सांसदले बताए ।

सम्बन्धित खबरहरु