काठमाडौं । देशभरमा आज कोभिड–१९ का दुई हजार ८२४ सङ्क्रमित थपिँदा तीन हजार ६२० सङ्क्रमणमुक्त भएका छन् । थपिएका सङ्क्रमितमध्ये पुरुष एक हजार ७७८ र महिला एक हजार ४६ छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले आज काठमाडौँ उपत्यकामध्ये काठमाडौँमा एक हजार ११३, ललितपुरमा १९५ र भक्तपुरमा ४९ नयाँ सङ्क्रमित थपिएका छन् ।

सङ्क्रमणमुक्त भएका तीन हजार ६२० समेत गरी आजसम्म एक लाख ३४ हजार ८४२ सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । आजसम्म निको हुने दर ७७ दशमलव ७ प्रतिशत छ । आजसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या ३७ हजार ७६५ पुगेको मन्त्रालयले जनाएको छ । यो जम्मा सङ्क्रमितमध्ये २१ दशमलव ८ हो ।

काठमाडौँ उपत्यकामा आज एक हजार ६२२ नयाँ सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमध्ये ९८५ पुरुष र ६३७ महिला छन् । उपत्यकामध्ये हाल काठमाडौँमा १६ हजार २२९, ललितपुरमा दुई हजार ३४२ र भक्तपुरका एक हजार सक्रिय सङ्क्रमित छन् । त्यस्तै होम आइसोलेशनमा रहनेको सङ्ख्या काठमाडौँमा १० हजार ७९७, ललितपुरमा दुई हजार २५७ र भक्तपुरमा एक हजार ७१९ छ ।

देशभरमा हालसम्म सङ्क्रमितको सङ्ख्या एक लाख ७३ हजार ५६७ पुगेको छ । सक्रिय सङ्क्रमितमध्ये हाल ३१ हजार ३९४ होम आइसोलेशनमा छन् । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी १३ हजार हजार २३ नमूना परीक्षण भएको थियो । हालसम्म १४ लाख ५६ हजार ३६६ नमूना परीक्षण भइसकेको छ । प्रति १० लाख जनसङ्ख्यामा ४९ हजार ९०८ परीक्षण भएको बताइएको छ । हालसम्म पिसिआर परीक्षणमध्ये सङ्क्रमण दर ११ दशमलव ९ प्रतिशत छ । क्वारेन्टिनमा रहेकाको सङ्ख्या दुई हजार ३८६ छ ।

प्रदेशानुसार होम आइसोलेशनमा रहनेको सङ्ख्या नं १ मा छ हजार ३३५, नं २ मा एक हजार ३३८, वाग्मतीमा १७ हजार ८३४, गण्डकीमा एक हजार ३५९, लुम्बिनीमा तीन हजार ६६, कर्णालीमा ५४५ र सुदूरपश्चिम प्रदेशमा ९१७ छ । देशभरमा गरी आज २८३ सङ्क्रमित आइसियुमा छन् । प्रदेश १ मा २९, प्रदेश २ मा ११, वाग्मतीमा १८०, गण्डकीमा १५, लुम्बिनीमा ३९, कर्णालीमा चार र सुदूरपश्चिम प्रदेशमा पाँच सङ्क्रमित आइसियुमा छन् ।

त्यस्तै प्रदेश १ मा १२, वाग्मतीमा ५८, गण्डकीमा दुई, लुम्बिनीमा पाँच र सुदूरपश्चिममा एक गरी ७८ सङ्क्रमित भेण्टिलेटरमा छन् । होम आइसोलेशन सल्लाह र रिफरको काम तदारुकताका साथ गर्न डा गौतमले सबै स्थानीय तहलाई अनुरोध गर्नुभएको छ । काठमाडौँलगायत ठूला शहरमा सङ्क्रमण फैलन दर उच्च भएकाले उच्च सतर्कता अपनाउन उहाँले सबैलाई आग्रह गर्नुभयो ।

कोभिडका कारण मृत्यु हुनेको सङ्ख्या फरकफरक भएकाले त्यसको अध्ययनका लागि तीन जनाको समिति गठन गरिएको र त्यसले अध्ययन गरिरहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार सरकारी अस्पतालमा धरौटी नलिई उपचार गर्न निर्देशन दिइएको छ । मन्त्रालयले यसअघि नै धरौटी सूचना निकाल्नेलाई स्पष्टीकरण माग गरेको थियो । उहाँले भन्नुभयो, “सक्नेसँग शुल्क लिने र नसक्नेलाई निःशुल्क गर्ने हाम्रो पूर्वनिर्णय यथावत् छ ।”

१३ जिल्लामा पाँच सयभन्दा बढी, तीनमा शून्य
आजसम्म देशभरका ७७ जिल्लामध्ये १४ मा सङ्क्रमित पाँच सयभन्दा बढी छन् भने तीन जिल्लामा शून्य छ । पाँच सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा झापा, मोरङ, सुनसरी, मकवानपुर, काभ्रेपलाञ्चोलक, चितवन, ललितपुर, काठमाडौँ, भक्तपुर, कास्की, नवलपरासी(बर्दघाट सुस्तापूर्व), रुपन्देही र दाङ छन् । आज मुस्ताङ, मनाङ र बाजुरामा एक जना पनि सक्रिय सङ्क्रमित छैनन् ।

थप २३ को मृत्यु
पछिल्लो २४ घण्टामा कोभिडका कारण थप २३ जनाको मृत्यु भएसँगै देशभरमा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ९६० पुगेको छ । सङ्क्रमणका कारण मृत्यु हुने शून्य दशमलव ५ प्रतिशत हो । रासस

सम्बन्धित खबरहरु