काठमाडौ । ठूलो संख्यामा नेपाली रहेको आँकलन भएको देश अष्ट्रेलिया रहेका नेपालीहरुको अब एकिन संख्या निकालिनेछ । पराराष्ट्र मन्त्रालय अन्तर्गत अष्ट्रेलियास्थित नेपाली दूतावासले प्यासिफिक क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकको गणना सुरू गरेको छ। यो गणनासँगै अब अष्ट्रेलियामा कति नेपाली छन् भन्ने एकिन हुनेछ ।

How many Nepalis are there in Australia cover

हुन पनि हो, यस भेगका मुलुकमा नेपालीको उपस्थिति कति छ भनेर अझसम्म यकिन हुन सकेको छैन। त्यसका लागि हचुवाका आधारमा लाख र सवा लाखका कुरा गरिन्छ। तर, यकिन गर्न भने अस्ट्रेलियन सरकारको पुरानो डाटामा सिमित हुनुपरेको छ।

यसै कारण पनि नेपालको परराष्ट्रले आफ्नो नयाँ नीतिमै सर्वेक्षण मार्फत नेपालीको संख्या यकिन गर्ने कामको थालनी गरेको हो। राजदूतावासले अष्ट्रेलियालगायत न्युजिल्याण्ड, फिजी, पपुवान्यूगिनी, भानुआटु, सोलमन आइल्याण्ड, टुभालु र सामोआमा बसोबास गर्ने नेपाली नागरिकलाई लक्षित गरि सर्वेक्षण फाराम जारी गरिएको हो।

त्यस क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकले अस्ट्रेलियास्थित नेपाली दूतावासको वेवसाइटमा गएर आफ्नो विवरण भर्नुपर्नेछ। जसका लागि यो लिंकमा क्लिक गरेर फाराम भर्न सकिनेछ।

हाललाई विद्यार्थी, विभिन्न पेशामा आवद्ध र पिआर पाइसकेका नेपाली नागरिकको विवरण संकलन गर्न लागिएको हो। केही समयपछि विदेशी नागरिकता लिइसकेका नेपालीको पनि विवरण संकलन गरिने दूतावासले जनाएको छ।

यसरी भरिएको विवरण पराराष्ट्र मन्त्रालयमा गोप्य तरिकाले सुरक्षित गरिने अस्ट्रेलियास्थित दूतावासले जनाएको छ। आफ्ना नागरिकको संख्या यकिन गर्न र समस्यामा दूतावासको भूमिका अगाडि बढाउन यो गणना सुरू गरिएको अष्ट्रेलियाका लागि नेपाली राजदूतको भनाई छ ।

‘अस्ट्रेलियामा मात्र पछिल्ला केही वर्षमा नेपालीको बिभिन्न दुर्घटनामा ज्यान जाने क्रम बढेको छ। यस्तो परिस्थितिमा नेपालीको तथ्यांक लिएर अध्यावधी गर्नु अनि मृत्यु हुँदा राजदूतावासको भूमिका सक्रिय बनाउन पनि यो गणना महत्वपूर्ण हो भन्ने हामीले लिएका छौ,’ एक अधिकारीले बताए ।

यस भेगमा बस्ने नेपालीहरुको विवरण दूतावासमा नहुँदा सहयोग र उद्धार गर्न कठिनाई हुने गरेको प्रसस्त उदाहरणहरू छन्। ‘हाम्रा नागरिकलाई विदेशी भूमिमा समस्या पर्दा तत्काल सहयोग गर्न सकियोस् भनेर तथ्यांक संकलन गर्न लागिएको हो,’ दुतावासका एक अधिकारीले स्पष्ट पारे, ‘हाम्रा नागरिकहरू कति विद्यार्थी, कति पीआर र कुन कुन सिप र पेशामा आवद्ध छन् भन्ने कुरा पनि जान्न सहज हुन्छ।’

दक्ष नागरिकको सिप र क्षमतालाई स्वदेशमा कसरी लगानी गर्ने भनेर योजना बनाउन पनि सजिलो हुने सरकारको बुझाई छ । पराराष्ट्र मन्त्रालयको यो कदमलाई गैर आवासीय नेपाली संघ अष्ट्रेलियाले पनि सकारात्मक रुपमा लिएको छ।

‘यो राम्रो कामको सुरुवात हो’, संघका प्रवक्ता डिला खरेलले भने। प्यासिफिक क्षेत्रमा कति नेपाली बसोबास गर्छन् त्यसको यकिन तथ्यांक कसैसँग पनि छैन। तर, अष्ट्रेलियामा मात्रै सवा लाखको हाराहारीमा नेपाली रहेको अनुमान भने गरिदै आएको छ। यो विवरण संकलनले नेपालीको संख्या यकिन गर्न सजिलो हुने विश्वास लिइएको एनआरएनका प्रवक्ता खरेलले बताए ।

सम्बन्धित खबरहरु