काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतिपय स्थानमा मतगणना तत्काल रोक्न माग गर्दै दिएका उजुरीहरु संघीय अदालतले खारेज गरिदिएको छ । ट्रम्पले विस्कन्सिन, मिचिगन, पेन्सिल्भेनिया र जोर्जिआ राज्यहरूमा मतगणनालाई कानुनी चुनौती दिँदै उजुरी दिनुभएको थियो ।

 

आरोप पुष्टि गर्नेगरी प्रमाणहरु नपुगेकोले ट्रम्प पक्षधरद्वारा दर्ता गरिएको उजुरी अदालतले खारेज गरिदिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

 

जर्जिआमा ढिलोगरी आएका ५३ ओटा मतपेटिकालाई नोभेम्बर ३ मा भएको निर्वाचनको मतपेटिकासँग मिसाइएको दाबीसहित मुद्दा दायर भएको थियो । मिचिगनमा भने मतगणना रोक्न माग गर्दै मतगन्तीको प्रक्रियामा पहुँचको माग गरिएको थियो ।

 

राष्ट्रपति ट्रम्पले पेन्सिल्भेनियामा मतगणना रोक्न गरेको कानुनी अनुरोधलाई पनि अस्वीकार गरिएको छ । राज्यका अधिकारीहरूले रिपब्लिकनलाई मतगणना निरीक्षण गर्न दिइएको बताउँदै एकजना प्रतिनिधिले सामाजिक दूरीको नियम पालना नगरेको बताएका थिए । ती राज्यका न्यायाधीशले उजुरी खारेज गरिदिएको र मतगणना रोक्न आवश्यक नभएको फैसला सुनाएका थिए ।

 

अमेरिकामा अहिलेसम्म ५० मध्ये ४४ राज्यबाट मतपरिणाम आइसकेको छ । अमेरिकामा हरेक चार–चार वर्षको नोभेम्बरमा राष्ट्रपति चयनका लागि निर्वाचन हुने गर्दछ । त्यस निर्वाचनबाट निर्वाचित नयाँ राष्ट्रपतिले औपचारिक रूपमा जनवरी २० मा शपथग्रहण गर्दै ह्वाइट हाउस प्रवेश गर्ने परम्परा रहेको छ ।

 

 

सम्बन्धित खबरहरु