काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा फुटिसकेको तर त्यसको औपचारिक घोषणा गर्नमात्र बाँकी रहेको आफूसँग बताएको नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले अनौपचारिक सचिवालय बैठकमा बताएका छन् ।

 

आफूसँग बिहीबार बालुवाटारमा भएको भेटका प्रसंगमा ओलीलाई उद्धृत गर्दै दाहालले बैठकमा भने, ‘पार्टी अलग–अलग भइसकेको छ। औपचारिक घोषणा गर्न मात्र बाँकी हो। तपाईँले सकेको तपाईँले गर्नुस्। मैले सकेको म गर्छु।’

प्रधानमन्त्री ओलीले अब नेकपा बल प्रयोगको अवस्थामा पुगेको र बल प्रयोग गरेर जसले जित्छ उसैले जित्ने बताएको पनि दाहालले जानकारी गराए। ‘तपाईँ बेग्लै गुट भेला गर्नुहुन्छ। म बेग्लै गुट भेला गर्छु,’ दाहालसँग ओलीले भने।

 

जवाफमा दाहालले बैठक बोलाएर छलफल गर्न ओलीसँग आग्रह गरेका थिए। दाहालले भनेका थिए, ‘त्यसो नभन्नुस्, बैठक बोलाउँ। छलफल गरौँ।’ ओलीले भने बैठक नबोलाउन चेतावनी दिँदै बैठक बोलाएकै समयमा पार्टी फुटको घोषणा गर्ने चेतावनी दाहाललाई दिएका थिए।

 

ओलीकै सुझावअनुसार दाहालले शुक्रबार अनौपचारिक पार्टी बैठक डाकेका हुन्। अनौपचारिक सचिवालय बैठकमा पाँचै जनाले सचिवालय बैठक बोलाउन संयुक्त रुपमा ओलीसँग लिखित रुपमा अनुरोध गर्ने निर्णय गरेका छन्। प्रचण्डले बोलाएको बैठकमा ओली मात्र हैन ।

 

उपप्रधानमन्त्री तथा सचिवालय सदस्य इश्वर पोखरेल, महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा बादलपनि बैठकमा अनुपस्थित थिए । यसले के देखाउँछ भने प्रचण्ड सहित पाँच जना एकातर्फ र ओली सहित ४ जना एकतर्फ बनिसकेका छन् ।

 

सम्बन्धित खबरहरु