काठमाडौं । सनराइजर्स हैदराबाद युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । आबुधाबीमा गएराति भएको एलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गर्दै हैदराबादले क्वालिफायरमा स्थान पक्का गरेको हो ।

 

शेख जायद क्रिकेट स्टेडियममा बैंगलोरले दिएको १ सय ३२ रनको लक्ष्य हैदराबादले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर पुरा गर्यो । हैदराबादको जितमा केन विलियम्सनले अविजित रहदै ५० रनको अर्धशतकीय इनिङ्स खेले । जासन होल्डरले अविजित २४ रन बनाए ।

 

बैंगलोरका मोहमद सिराजले २ विकेट लिए । एडम जाम्पा र युजभेन्द्र चाहलले १–१ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो ।

 

बैंगलोरका लागि एबी डी भिलियर्सले ५६ रनको अर्धशतकीय इनिङ्स खेले । हैदराबादका जासन होल्डरले ३ विकेट लिए । टि नटराजनले २ तथा शाहबाज नादिमले १ विकेट लिए । अब हैदराबादले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा आइतबार दिल्ली क्यापिटल्ससँग खेल्नेछ ।

 

दिल्ली पहिलो क्वालिफायरमा मुम्बई इन्डियन्ससँग पराजित भएको थियो । तर, आइपीएलको नियममा पहिलो क्वालिफायरमा पराजित हुने टिमले दोस्रो क्वालिफायर खेल्ने मौका पाउने प्राबधान रहेको छ ।

 

मुम्बई फाइनल प्रवेश गरिसकेको छ । दोस्रो क्वालिफायरको विजेताले फाइनलमा मुम्बईसँग खेल्नेछ । बैंगलोर भने प्रतियोगिताबाट बाहिरिएको छ ।

 

सम्बन्धित खबरहरु