काठमाडौं । अमेरिकाको ४६औँ निर्वाचित राष्ट्रपति जो बाइडेनले पाँच लाख भारतीयहरूलाई नागरिकता दिनसक्ने भन्दै भारतीय सञ्चारमाध्यउहरुमा खबर बाहिर आइरहेको छ । बाइडेनले लगभग १ करोड १० लाख जति आप्रवासीहरूलाई अमेरिकी नागरिकता दिनसक्ने खुलाइएको छ ।
जोसँग कुनै कागजातहरू छैनन्, त्यस्ता व्यक्तिहरुका लागि रोडम्याप तयार गर्दैछ । यसका साथै उनले वर्षमा न्युनतम ९५ हजार शरणार्थीहरूलाई अमेरिकामा प्रवेश गराउने प्रणालीको तयारी पनि गरेका छन् ।
बाइडेनको अभियान द्वारा जारी गरिएको नीतिगत दस्तावेजमा यो जानकारी दिइएको छ । यदि उनले आप्रवासीहरूलाई अमेरिकी नागरिकता दिने कुरा व्यवहारमा ल्याए भने त्यसको प्रत्यक्ष लाभ नेपालीहरुले पनि लिनसक्ने बताइएको छ ।
दस्तावेजमा बाइडेनले चाँडै कांग्रेसमा अध्यागमन सुधार कानून पारित गर्ने काम सुरु गर्नेछन् भनिएको छ । जसमा अमेरिकी अध्यागमन प्रणालीलाई आधुनिकीकरण गरिने बताइएको छ । यस अन्तर्गत कागजात नभएका १ करोड १० लाखभन्दा बढी विदेशीहरुले नागरिकता पाउन सक्नेछन् ।
यो भिडमा कम्तीमा ५ लाख भारतीयहरु रहेको खुलेको छ । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प आप्रवासीहरूका लागि एकदम खराब साबित भएका थिए ।
तर बाइडेनले नेपालसहित विश्वभरका करोडौं आप्रवासीहरूलाई अमेरिकी नागरिकता प्रदान गर्न कार्ययोजना तयार गर्दैछन् । उक्त दस्तावेजका अनुसार उनले अमेरिकामा वार्षिक १ लाख २५ हजार शरणार्थीहरुलाई प्रवेश दिने लक्ष्य राखेका छन् ।