पटना, २५ कात्तिक (रासस–एएनआई) भारतको बिहारमा सम्पन्न विधानसभाको निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगले अपराह्न सार्वजनिक गरेको विवरणमा भारतीय जनता पार्टी र जनता दल युनाइटेडको गठबन्धन (एनडिए) ले झिनो अग्रता लिएको छ ।

बिहारको कूल २४३ सदस्यीय विधानसभामा एनडिएले १२८ स्थानमा अग्रता बनाइरहेको छ जसमा भारतीय जनता पार्टीले ७४, जनता दल युनाइटेडले ४७, विकासशील इन्सान पार्टीले ६ तथा हिन्दुस्तानी अवाम मोर्चाले एक स्थानमा अग्रता बनाएका छन् ।

पूर्व मुख्यमन्त्री लालु प्रसाद यादवका छोरा अध्यक्ष रहेको राष्ट्रिय जनता दलको अग्रसरतामा गठन भएको महागठबन्धनले कूल १०४ स्थानमा अग्रता बनाइरहेको छ । महागठबन्धनमा रहेको राष्ट्रिय जनता दलले ६७, भारतीय राष्ट्रिय काँग्रेसले १९, बामपन्थी समूहले १९ स्थानमा अग्रता बनाएका छन् ।

बिहार निर्वाचन आयोगका प्रमुख एचआर श्रीनिवासले मंगलबार अबेर रातिसम्म मतगणना कार्य जारी रहने बताउनु भएको छ ।

बिहार विधानसभाको तीन चरणमा चुनाव सम्पन्न भएको थियो । कोरोनाभाइरसका कारण चुनावको नतिजा प्रकाशनमा यसपटक केही ढिलाई भएको आयोगले जनाएको छ ।

कोरोनाभाइरसका कारण सामाजिक दूरी कायम गर्नुपर्ने जनाउँदै यसपटक मतदान केन्द्रको संख्या ७२ हजार ७२३ वटा थप गरिएका कारण पनि चुनावी मतगणनामा ढिलाई भएको समाचार छ ।

यस चुनवामा तीन हजार ७५५ उम्मेदवार रहेका थिए । चुनाव आयोगले हाल ५५ वटा मतगणना स्थलको व्यवस्था गरेको छ । बिहारमा गत अक्टोबर २८, नोभेम्बर ३ र नोभेम्बर ७ मा गरी तीन चरणमा चुनाव भएको थियो ।

सम्बन्धित खबरहरु