झापा । बैदेशिक रोजगार कसुर मुद्दाका फरार प्रतिवादी कन्काई नगरपालिका–३ घर भई हाल काठमाडौं महानगरपालिका–३५ बस्दै आएका ३६ वर्षीय सौरभ उप्रेतीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

 

बैदेशिक रोजगार न्यायाधिकरणको २०७४ असार ६ गतेको फैसलाले बैदेशिक रोजगार कसुर मुद्दामा १ वर्ष ६ महिना कैद तथा १ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर भई वारदात पश्‍चात फरार रहेका उप्रेतीलाई जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीले आफ्नै घरबाट पक्राउ गरेको हो ।

 

उप्रेतीलाई बुधबार जिल्ला अदालत भद्रपुर झापामा उपस्थित गराई अदालतको आदेशले फैसला कार्यान्वयनको लागि कारागार कार्यालय चन्द्रगढी पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

यता मोरङमा भन्सार छलिका करिब १ लाख ६७ हजार ३ सय रुपैयाँ मूल्य बराबरका कपडा तथा लेडिज चुरा सहित विराटनगर महानगरपालिका–१६ दरैया बस्ने २५ वर्षीय राहुल रायलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

 

राहुलले भारतको जोगवनीबाट अवैध रूपमा भन्सार छली कपडा तथा लेडिज चुरा समेत ल्याई रहेको भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त मूल्य बराबरको सामानहरू फेला पारी उनलाई पक्राउ गरेको हो ।

 

यसैगरी विराटनगर महानगरपालिका–९ स्थित सडकबाट अवैध रूपमा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याएको करिब १ लाख ४५ हजार ३ सय रुपैयाँ मूल्य बराबरको कपडा तथा किराना सामान मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उक्त सामानहरू फेला पारी बरामद गरेको हो ।

 

उक्त सामानहरू आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय रानी विराटनगरमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

 

 

सम्बन्धित खबरहरु