काठमाडौ । बेलायतमा क्रियाशिल नेपाली चलचित्रकर्मीहरुलाई लन्डनस्थित नेपाली दूतावासले सम्मान गरेको छ । दूतावासमा ‘नेपाली चलचित्र महोत्सव’ आयोजना गरी राजदूत डा दुर्गाबहादुर सुवेदीले उनीहरुलाई सम्मान गरेका हुन् ।

 

लामो समयदेखि बेलायतमा रहेर कला क्षेत्रमा योगदान पुरयाएबापत राजदूत सुवेदीबाट विशेष सम्मान पाउनेमा निर्देशकद्वय कुशल श्रेष्ठ र सनमकुमार वैराग छन् । उनीहरु दुवैलाई नेपाली खुकुरी, पुष्पगुच्छा र मायाको चिनोसहित राजदूतले सम्मान गरेका थिए ।

एक दशक लामो समय बेलायतमा रहेर मिडियाकर्ममा सक्रिय निर्देशक श्रेष्ठले झन्डै तीन दर्जन नेपाली म्यूजिक भिडियो निर्देशन तथा छायांकन गरेका छन् । उनीसँग आधा दर्जन नेपाली चलचित्रमा छायांकनको अनुभव पनि छ ।

 

त्यस्तै, सम्मानित हुने अर्का निर्देशक सनमकुमार वैरागले नेपाल तथा बेलायतमा रहेर लामो समय कला क्षेत्रमा योगदान गरेका छन् । बेलायतमा आफ्नै निर्देशन र अभिनयमा नेपाली नाटकहरु प्रस्तुत गर्दै आएका उनले चलचित्र निर्माण तथा निर्देशन पनि गर्दै आएका छन् ।

उक्त महोत्सवमा बेलायतमा निर्मित नेपाली चलचित्र, नाटक र म्यूजिक भिडियोहरुको प्रस्तुति गरिएको थियो । बेलायतमा नेपाली चलचित्र, नाटक तथा नेपाली म्यूजिक भिडियोको विकास, प्रचारप्रसार तथा बेलायतमा नेपाली चलचित्रको बजार प्रवर्द्धन गर्ने उद्देश्यले पहिलोपटक महोत्सव आयोजना गरिएको दूतावासले जनाएको छ ।

 

महोत्सवमा राजदूत सुवेदीले लेखेका ‘दुख्ने मुटु’ र ‘अधर’ बोलका दुई गीतमा निर्देशक कुशल श्रेष्ठद्वारा निर्देशित म्यूजिक भिडियोहरु तथा निर्देशक सनमकुमार वैरागद्वारा निर्देशित ‘शून्य’ नामक लघु चलचित्र लोकार्पण गरे । महोत्सवमा बेलायतमा निर्माण भएका नेपाली चलचित्रहरुलाई समेटेर तयार गरिएको संक्षिप्त भिडियो प्रस्तुत गरिएको थियो ।

 

साथै, नाटक तथा चलचित्र निर्देशक तथा कलाकार वैरागले बेलायतमा नेपाली चलचित्रको विकास र विस्तार सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । सो अवसरमा नायिका मिरुना मगर, अभिनेता ध्रुब दत्त लगायतका कलाकारहरु सम्मानित भएका थिए ।

 

सम्बन्धित खबरहरु