काठमाडौ । कोरोना सङ्क्रमणका कारण बन्द भएका विद्यालय तिहार लगत्तै खुल्ने भएका छन् । विद्यार्थीहरुको भविष्य नै संकटमा परेका कारण स्वास्थ्य मापदण्ड पुरा गर्दै विद्यालय खोल्ने बाँके नरैनापुर गाउँपालिकाले निर्णय गरेको हो ।

 

अब कारोनाका कारण विद्यार्थीलाई घरमा नै राखे भविष्य अप्ठ्यारोमा पर्ने भएकाले यो निर्णय गरिएको गाउँपालिका गाउँ शिक्षा समिति संयोजक एवम् गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले बताउनुभयो । उहाँको अध्यक्षतामा बसेको बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइ आगामी मंसिर १४ गतेदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।

शिक्षा शाखा प्रमुख कृष्णकुमार थारुका अनुसार विद्यालय सञ्चालन गर्न कार्यविधि तयार गरी एक हप्ताभित्रमा कार्यपालिकामा पेश गर्ने निर्णय भएको छ । सोही कार्यविधिका आधारमा विद्यालय सञ्चालन गरिने थारुले बताउनुभयो ।

 

नगरपालिकाद्धारा आर्थिक सहयोग

नेपालगञ्जको भेरी अस्पतालमा मात्र रु २० मा पेटभरी खाना खुवाउँदै आएको श्री सुन्दरकाण्ड मित्र मण्डललाई नेपालगञ्ज उपमहानगरपालिकाले आज रु ५० हजार सहयोग गरेको छ । उपमहानगरपालिकाको सहकार्यमा मित्र मण्डलले खाना खुवाउँदै आएको छ । मित्र मण्डलका संरक्षक समाजसेवी विजय गुप्तालाई नगर प्रमुख डा धवलशम्शेर राणाले सहयोगको चेक आजै हस्तान्तरण गर्नुभयो ।

 

उपमहानगरपालिकाले रु २० मा खाना खुवाउने कार्यलाई निरन्तरता दिन मासिक रु ५० हजार सहयोग गर्ने निर्णय गरेअनुसार आज पहिलो पटक सहयोग हस्तान्तरण गरिएको हो । विपन्न व्यक्ति तथा अस्पतालमा उपचाररत बिरामी र कुरुवालाई लक्षित गरी रु २० मा खाना खुवाउन थालिएको मित्र मण्डलले जनाउनुभयो ।

 

 

सम्बन्धित खबरहरु