काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अब भने अन्तिम संकटमा पुगेको छ । अब नेताहरुको विवाद कि वार कि पारको अवस्थामा पुगेसँगै नेकपा अन्तिम संकटमा गुज्रिएको हो । उपाध्यक्ष वामदेव गौतमले कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय सचिवालयमा पेश गरेको प्रस्ताव फिर्ता नहुने दोहोर्‍याएपछि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली आफ्नो रणनीतिमा लागेका छन् ।

 

यो अवस्थामा आउँदा अब भने पार्टी विवाद अन्तिम निश्कर्षमा पुग्नेगरी कदम अघि बढ्ने देखिन्छ । अध्यक्ष प्रचण्ले राखेको प्रस्तावमा अधिकांश अध्यक्ष ओलीको आलोचना र आरोपमा मात्र केन्द्रीत छन् । यस्तो हुँदा सोही प्रस्तावमा अध्यक्ष ओली बैठकमा बस्न नसक्ने स्पष्ट भएको छ ।

 

आइतबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भएको भेटमा उपाध्यक्ष गौतमले प्रधानमन्त्रीले आफ्नो कार्यशैली सुधार्नुपर्ने समेत सुझाव दिएको बुझिएको छ । अध्यक्ष एवं  प्रधानमन्त्री ओलीले बोलाएपछि गौतम बिहान बालुवाटार पुगेका थिए।

 

भेटमा प्रधानमन्त्री ओलीले अध्यक्ष दाहालका तर्फबाट आएको प्रस्ताव फिर्ता लिने वातावरण बनाउन र आफूलाई सहयोग गर्न गौतमलाई आग्रह गरेका थिए। जवाफमा गौतमले कुनै नेतालाई गाली गरेर समस्याको समाधान नहुने भन्दै पार्टीलाई विधि र पद्धतिमा सञ्चालन गर्नका लागि आएको प्रस्ताव फिर्ता नहुने बताए।

 

“यो कमरेड प्रचण्डको मात्र प्रस्ताव होइन हामी पाँचै जनाको (अध्यक्ष दाहाल, उपाध्यक्ष गौतम, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ) प्रस्ताव हो।

 

सबैको सहमतिमा आएको प्रस्ताव हो”, नेता गौतमले प्रधानमन्त्रीसँगको भेटमा भनेको कुरा उदृत गर्दै उनका प्रेस संयोजक विश्वमणि सुवेदीले भने, “मैले भनेर मात्रै प्रस्ताव फिर्ता हुँदैन। मुख्य कुरा तपाईंको कार्यशैली हो। कार्यशैली सुधारे यो प्रस्ताव गौण हुन्छ।”

 

२८ कात्तिकमा बसेको सचिवालय बैठकमा अध्यक्ष दाहालले पेश गरेको प्रस्तावले नेकपा तरंगित बनेको छ। सचिवालय सदस्य ईश्वर पोखरेल र स्थायी कमिटी सदस्य शंकर पोखरेलले प्रस्ताव फिर्ता लिन दाहाललाई सार्वजनिक रूपमै आह्वान गरेका छन्। प्रस्ताव फिर्ता नलिए ३ मंसिरका लागि तय सचिवालय बैठक बस्न नदिने ओली पक्षको रणनीति छ।

 

यही तरंगबीच ओलीले गौतमलाई बालुवाटार बोलाएर सहयोग मागेका हुन्। तर, गौतमले आफू पार्टीलाई विधि, पद्धतिमा चलाउनुपर्छ भन्नेमा अडिग रहेको बताउँदै बैठक बसेर कमिटीमार्फत् नै समस्याको समाधान खोज्नुपर्ने जवाफ दिएका छन्।

 

“यसरी एक्लाएक्लै छलफल गरेर हुँदैन। एककाविरुद्ध अर्कालाई उचालेर पनि हुँदैन। जे छलफल गर्नुपर्छ, जे निर्णय गर्नुपर्छ कमिटीमै गरौं”, गौतमले ओलीलाई भनेका थिए। गौतमले सरकार र पार्टी सञ्चालनका सन्दर्भमा ओलीले कार्यशैली सच्याएर आत्मालोचना गरे समस्याको समाधान हुने पनि बताए।

 

गौतमले ओलीलाई प्रस्तावमाथि बैठक बसेर छलफल गर्नुपर्ने र फिर्ता लिन मिल्ने भए बैठकमै अनुरोध गर्न पनि आग्रह गरे। तर, त्यसमा प्रधानमन्त्री सच्चिनुपर्ने गौतमले अडान राखे।

 

“तपाईं सच्चिने हो र कार्यशैली सच्याउने हो भने सहयोग गर्न नसकिने भन्ने होइन। सहयोग गर्न परे त्यतिबेलै गरौंला। तर, अहिले यो प्रस्ताव कुनै हालतमा फिर्ता हुँदैन”, गौतमले बालुवाटारबाट निस्किँदै गर्दा ओलीसँग भनेका थिए।

 

सचिवालयका बहुमत सदस्य एकठाउँ उभिँदा अध्यक्ष ओली दबाबमा परेका छन्। उनले यसअघि शंकर पोखरेल र विष्णु पौडेललाई गौतम निवास भैंसेपाटी पठाएर गौतमसँग सहयोगका लागि आग्रह गरेका थिए। तर, गौतमले प्रष्ट अडान राखेका कारण ओलीले सचिवालयमा बहुमत पुर्‍याउन सकेका छैनन्।

 

पार्टीभित्र देखिएका समस्या समाधानमा परामर्शका लागि प्रधानमन्त्री ओलीले शनिबार साँझ शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत भेटेका थिए। राष्ट्रपतिलाई भेटेको भोलिपल्टै ओलीले गौतमलाई बालुवाटार बोलाएका हुन्।

 

 

 

सम्बन्धित खबरहरु