Basanta Regmi

काठमाडौ, माघ ५ – नबराज पराजुली । नेपालका वसन्त रेग्मी विश्व क्रिकेट लिगमा १ सय विकेट पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । नामिबियामा भइरहेको डिभिजन-२ मा आइतबार नेदरल्यान्ड्ससँगको खेलमा २ विकेट लिँदै वसन्तले एसोसिएट राष्ट्रको क्रिकेटमा अनुपम कीर्तिमान बनाएका   हुन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् -आईसीसी) ले विश्व क्रिकेट लिगको संरचना २००७ देखि ल्याएको हो । त्यसको अर्को वर्ष नेपाल यस संरचनामा समावेश भएसँगै वसन्तले नियमित खेल्दै आएका छन् । विन्डहोकस्थित युनाइटेड क्रिकेट क्लब मैदानमा ४८ खेल खेल्दै वसन्तले १ सय विकेट पुर्‍याएका हुन् । शनिबार डिभिजन-२ सुरु हुनुअघि नै वसन्त विश्व क्रिकेट लिग संरचनामा सबैभन्दा बढी विकेट लिने खेलाडीमा अगाडि थिए । दोस्रो स्थानमा रहेका अफगानिस्तानका हमिद हसनको ४२ खेलमा ७९ विकेट छ । नेपाली खेलाडीमा सर्वाधिक विकेट लिनेमा वसन्तपछि शक्ति गौचन छन् । ४८ नै खेल खेलेका शक्तिको नाममा ५४ विकेट छ । वसन्त, शक्ति र ज्ञानेन्द्रले नेपालले विश्व क्रिकेट लिगमा खेलेका सबै खेल खेल्दै आएका छन् ।

डिभिजन-२ खेल्न नामिबिया जानुअघि वसन्तले १ सय विकेटको कीर्तिमान आफ्नो दिमागमा रहे पनि नेपाललाई डिभिजन-१ मा उकाल्नु मुख्य उद्देश्य रहेको बताएका थिए । नेपालले शनिबार युगान्डासँग २ रनको अप्रत्याशित हार बेहोरेको थियो । नेदरल्यान्ड्सको खेल पनि अघिल्लो दिन जस्तै निकै रोमाञ्चक रह्यो । वसन्तले २ विकेट लिएको खेलमा नेपालले २ विकेटको विजय हात पार्दै डिभिजन-१ मा पुग्ने आशालाई कायम गरेको छ ।

नेपालको विश्व क्रिकेट लिगको पहिलो प्रतियोगिता डिभिजन-५ जर्सीमा वसन्तले मोजाम्बिकविरुद्ध ८ रन खर्चेर ५ विकेट लिएका थिए ।

जुन उनको विश्व क्रिकेट लिगमा उत्कृष्ट बलिङ प्रदर्शन पनि हो । तर नामिबियालाई सस्तैमा रोकेपछि खेल वषर्ाले बिथोलेको थियो । भोलिपल्ट खेल पुनः सुरुबाटै सञ्चालन हुँदा महबुब आलमले १० विकेट लिएर विश्व कीर्तिमान बनाएका थिए ।

त्यसबाहेक उनले अर्को दुई पटक एक खेलमा ५-५ विकेट लिएका छन् । २०१२ को डिभिजन-४ मा अमेरिकाविरुद्ध समूह चरण र फाइनलमा । उनले २१ विकेट लिएका थिए, सो प्रतियोगितामा । यो प्रदर्शनसँगै वसन्त एकै प्रतियोगितामा नेपालबाट सर्वाधिक विकेट लिने खेलाडी बनेका थिए, जुन अहिलेसम्म कायम छ ।

वसन्त नेपालका स्ट्राइक बलर हुन् । जर्सीको डिभिजन-५ र त्यसको दुई वर्षपछि काठमाडौंमै भएको डिभिजन-५ बाहेक अन्य सबैमा वसन्तले नेपालका लागि सर्वाधिक विकेट लिँदै आएका छन् । २०१० र २०१२ को डिभिजन-४ मा वसन्त प्रतियोगिताकै सर्वाधिक विकट लिने खेलाडी थिए ।

जनबोली न्युज डेस्क

सम्बन्धित खबरहरु