काठमाडौं । कोभिड–१९ का कारण बन्द रहेका विद्यालय सञ्चालन गर्न सक्ने अधिकार स्थानीय तहलाई तोकिएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको कार्यढाँचामा स्थानीय तहलाई विद्यालय खोल्न दिने अधिकार दिएको हो । अब स्थानीय तहको समन्वयमा विद्यालय व्यवस्थापन समितिको सिफारिसमा विद्यालय खोल्न सक्ने भएको छ । यसअघि कोभिड संक्रमण कम भएका स्थानीय तहले विद्यालय खोल्दा प्रमुख जिल्ला अधिकारीको ठाडो आदेशमा बन्द हुने गरेको थियो । कार्यढाँचा पारित भएपछि अब विद्यालय सञ्चालन गर्न बाधा पर्नेछैन ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले स्थानीय तहले अवस्था हेरेर विद्यालय खोल्न सक्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘कार्यढाँचा सार्वजनिक भएको छ, त्यसलाई आधार मानेर कोभिडको अवस्था मध्यनजर गरी विद्यालय खोल्न सक्नेछन् ।’ कार्यढाँचा आउनुअघि केही स्थानीय तहले विद्यालय खोलिसकेका थिए । कार्यढाँचा आएपछि अन्य स्थानीय तहले विद्यालय खोल्ने तयारी गरेका छन् । कार्यढाँचामा विभिन्न संघ, प्रदेश र स्थानीय तहको जिम्मेवारी तोकेर विद्यालय खोल्ने उल्लेख गरेको छ ।

विद्यालय खोल्ने अधिकार स्थानीय तहलाई भए पनि अहिलेकै अवस्थामा उपत्यकामा विद्यालय खोल्न सक्ने अवस्था देखिएको छैन । असोजमा बसेको मन्त्रिपरिषद्को बैठकले विद्यालय खोल्ने अधिकार स्थानीय तहलाई दिएको थियो । सोही आधारमा मन्त्रालयले कार्यविधि तयार गरेको हो । मन्त्रीस्तरीय निर्णयबाट स्थानीय तहलाई अधिकार दिएर विद्यालय खोल्ने व्यवस्था गरेको हो । मन्त्रालयका प्रवक्ता शर्माले संक्रमण नभएका, कम भएका र बढी भएका विद्यालयको अवस्थाबारे अध्ययन गरी खोल्ने निर्णय स्थानीय तहले पाइसकेको जानकारी गराउनुभयो ।

लामो समयदेखि विद्यालय बन्द गर्दा शैक्षिकसत्रमा समेत असर पर्ने भएपछि मंसिर अन्त्यदेखि विद्यालय खोल्ने वातावरण तयार गर्न कार्यढाँचा तयार गरेको हो । सरकारले वैशाख १ गतेबाट गणना हुने गरी शैक्षिकसत्र लागू गरेको थियो । सोहीअनुसार सबै विद्यालयले अनलाइन कक्षा शुरु गरेका छन् । कार्यढाँचामा स्वास्थ्य र सुरक्षाको प्रत्याभूति गराउँदै बालबालिकालाई विद्यालय जान मानसिकरूपमा तयार पार्नुपर्ने जिम्मा स्थानीयतहलाई दिइएको छ । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

सम्बन्धित खबरहरु