काठमाडौ । नेपाली क्रिकेटका ‘ग्लोबल आइकन’ सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग ब्यास लिग (बीबीएल) टी ट्वान्टी क्रिकेट होबर्ट हुरिकेन्सबाट खेल्ने हुनुभएको छ । होबर्टले आज विदेशी खेलाडीको कोटामा सन्दीपलाई अनुबन्धित गरेको उहाँका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिनुभयो । सम्झौता रकम भने उसले खुलाएको छैन ।

 

सन्दीपले लगातार तेस्रो पटक बीबीएल खेल्न लाग्नुभएको हो । यसअघि सन्दीपले दुई सिजन मेलबर्न स्टार्सबाट बीबीएल खेल्नुभएको थियो । उहाँले दुवै सिजनमा गरी बीबीएलमा २० खेल खेल्दै २६ विकेट लिनुभएको थियो । गत संस्करणमा सन्दीपको उत्कृष्ट प्रदर्शनकै कारण मेलबर्न फाइनलमा पुगेको थियो ।

 

बीबीएलका लागि होबर्टमा सामेल हुन पाउँदा सम्मान महसुस गरेको सन्दीपले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिनुभएको छ । अष्ट्रेलियामा आफूले सधैँ माया र सम्मान पाएको उहाँको भनाइ छ । इन्डियन प्रिमियर लिग ९आइपीएल० बाट फर्किनुभएका उहाँ हाल चितवनस्थित घरमा रहनुभएको छ । यस पटकको आइपीएलमा उहाँले कुनै पनि खेल खेल्न पाउनुभएन ।

 

यस्तै होबर्टका मुख्य प्रशिक्षक एडम ग्रिफ्टले सन्दीपको अगमनले टिमको बलिङ पक्ष थप बलियो भएको बताउनुभएको छ । सन्दीपमा जहिले पनि रहस्यमय स्पिनको साथ खेल परिवर्तन गर्नसक्ने खुबी भएको र इनिङ्सको कुनै पनि चरणमा बलिङ गर्न सक्ने उहाँको भनाइ छ । सन्दीप ‘विकेट टेकर’ भएकाले बलिङमा अर्को आयाम थपिने प्रशिक्षक ग्रिफ्टले उल्लेख गर्नुभयो ।

 

नयाँ सिजनको बीबीएल आगामी डिसेम्बर १० अर्थात् मङ्सिर २५ गतेदेखि शुरु हुनेछ । यस सिजनमा हरेक टिमले तीन विदेशी खेलाडीलाई प्लेइङ सेटमा राख्न पाउने छन् । यसअघि बीबीएलमा दुई विदेशी खेलाडीलाई मात्र राख्न पाइने नियम थियो । रासस

 

 

सम्बन्धित खबरहरु