काठमाडौ । तस्विरमा देखिएका व्यक्तिहरु हुन् पोखरा महानगरपालिका-१७ बिरौटा सिशुनिकेतन मार्गस्थित स्टोर अगाडि पार्किङ गरी राखेको २ थान मोटरसाइकलमा आगजनी गर्ने । यही अभियोगमा पोखरा महानगरपालिका-१७ बिरौटा बस्ने १९ वर्षीय दिवश रानाभाटलाई सोमबार प्रहरीले पक्राउ गरिसकेको छ ।

पोखरा बस्ने स्याङ्जा घर भएका ३० वर्षीय सन्तोष अर्यालको स्टोर अगाडि पार्किङ गरी राखेको ग.१२ प ८६९८ नम्बर र ग.७ प ९७८८ नम्बरको मोटरसाइकलमा असोज २६ गते राति आगजनी गरी मानिस फरार भएको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनी उपर अपराधिक उपद्रव कसूर अन्तर्गत थप अनुसन्धान भइहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

यता डाँका मुद्दाका फरार प्रतिवादी मकवानपुर हेटौंडा उपमहानगरपालिका-७ नागसोती बस्ने ३९ वर्षीय जगन्नाथ ढकाललाई घटनाको १६ वर्षपछि सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

२०६४ भदौ ६ गते जिल्ला अदालत काठमाडौंको फैसलाले डाँका मुद्दामा ६ वर्ष कैद र १ लाख ९६ हजार ६ सय ५० रुपैयाँ जरिवाना ठहर भई फरार उनलाई महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय पशुपतिनगरको समन्वयमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-७ नागसोतीबाट पक्राउ गरेको हो ।

ढकाल समेतका व्यक्तिहरुले २०६१ असोज ७ गते काठमाडौंको जडिवुटीमा बनेपाबाट बा.१६ प ६८३१ नम्बरको मोटरसाइकलमा आउँदै गरेका पीडितलाई नियन्त्रणमा लिई जवरजस्ती भ्यानमा राखी एकान्तस्थानमा लगेर साथमा रहेको नगद १० लाख २५ हजार रुपैयाँ, मोटरसाईकल र मोबाइल समेत गरी जम्मा ११ लाख ६३ हजार ९ सय रुपैयाँ बराबरको धनमाल डाँका गरेको घटनामा ढकाललाई उक्त कैद तथा जरिवाना फैसला भएको थियो ।
फैसला कार्यान्वयनको लागि उनलाई जिल्ला अदालत काठमाडौं पठाइएको महानगरीय अपराध महाशाखा मिनभवनले जनाएको छ ।

यसैगरी सुनसरीको देवानगञ्ज गाउँपालिका-२ स्थित श्रीरामगन सहकारी संस्थाबाट करिब १ लाख ६० हजार रुपैयाँ बराबरको ११ बोरा युरिया मल, ६ बोरा डिएपी मल लगायत मकै, गहुँको बिउ मंगलबार राति चोरी भएको छ ।
उक्त संस्थाको भवन कोठाको झ्याल फोडी चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी रानीबाट खटिएको प्रहरीले चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

फिचर तस्विरमा नै देखिएका अर्का दुई जना सुनसरी, ३ मङ्सिर
को.१८ प ८५३६ र को.७ प ९६२५ नम्बरका मोटरसाइकल चोरी गरेको अभियोग लागेका व्यक्ति हुन् । यो अभियोगमा इटहरी उपमहानगरपालिका-४ बस्ने २४ वर्षीय विकास भुजेल र २४ वर्षीय विवेक अधिकारीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

मोटरसाइकल चोरी गरी बिकासको घरभित्र लुकाई राखेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिइएको प्रहरीले उक्त मोटरसाइकल सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरु उपर चोरी मुद्दामा जिल्ला अदालत सुनसरीबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सुनसरी कै ईटहरी उपमहानगरपालिका-१ माझी टोलमा २ जनालाई गाली गलौज गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा ईटहरी उमहानगरपालिका-५ बस्ने २२ वर्षीय समिर वराल र सोही ठाउँ बस्ने १९ वर्षीय सुजन लिम्वु रहेका छन् ।

आइतबार उनीहरुले २ जनालाई गाली गलौज गरेको साथै हात हालेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनीहरुलाई सोही उपमहानगरपालिका-५ बजारमा लुकीछिपी हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनीहरु उपर जिल्ला प्रशासन कार्यालय सुनसरीवाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यसैगरी सुनसरी ईटहरी उपमहानगरपालिका-६ गोर्खा डिमार्टमेन्ट स्टोर नजिक बाटोबाट डाँका मुद्दाका फरार प्रतिवादी संखुवासभा चैनपुर नगरपालिका-७ बस्ने २८ वर्षीय पर्वत तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

संखुवासभाबाट फरार रहेका उनलाई उक्त बाटोमा लुकीछिपी बसेको अवस्थामा ईलाका प्रहरी कार्यालय इटहरी सुनसरीबाट खटिएको प्रहरीले फेला पारी पक्राउ गरेको हो ।  उनलाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय चैनपुर संखुवासभा पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

उता बारा, अवैध रुपमा भन्सार छली भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ४८ लाख ६१ हजार ९ सय ७० हजार रुपैयाँ बराबरको रेडिमेड कपडा, किराना मालसामान बाराका विभिन्न स्थानबाट प्रहरीले बरामद गरेको छ । उक्त सामान जिल्ला प्रहरी कार्यालय बारा, इलाका प्रहरी कार्यालयहरू जितपुर र सिम्रौनगढ बारा समेतबाट खटिएको प्रहरीले फेला पारी बरामद गरेको हो । साथै उक्त सामान ओसार पसार गर्न प्रयोग गरेको प्र.३-०१-०२२ च ७०७० नम्बरको गाडी र १ थान मोटरसाइकल सहित २ जनालाई समेत नियन्त्रणमा लिएको छ । उनीहरुलाई आवश्यक कारवाहीको लागि सवारी साधन सहित भन्सार कार्यालय वीरगंज बुझाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
सुनसरी, सुनसरीका बिभिन्न स्थानबाट भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको करिब २ लाख ९८ हजार ९ सय १५ रुपैयाँ बराबरको लत्ताकपडा, खाद्यान्न लगायत सुर्तीजन्य पदार्थ प्रहरीले बरामद गरेको छ । बरामद सामान आवश्यक कारवाहीका लागि सेतुबन्ध भन्सार कार्यालय कोशी ब्यारेज सुनसरी पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सम्बन्धित खबरहरु