काठमाडौं । विदेश जाने यात्रुलाई कोरोनाको नक्कली रिपोर्ट दिने गरेको प्रमाणित भएको छ । यो तथ्य बाहिरिएपछि त्यस्ता अस्पताल तथा ल्याबमाथि छानबिन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञ समूह गठन नै गरेको छ ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जाने यात्रुलाई नक्कली कोरोना रिपोर्ट दिने अस्पताल र ल्याबबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको थियो । नेपाल एयरलाइन्समार्फत विदेश पुगेका यात्रुमा कोरोना संक्रमण पुष्टि भएपछि काठमाण्डु उपत्यकाका चार वटा अस्पताल र ल्याबहरुले कोरोनाको नक्कली रिपोर्ट दिएको खुलेको थियो ।

नक्कली रिपोर्ट दिएको भनिएकाहरुमा ह्याम्स अस्पताल, स्टार अस्पताल, सूर्या हेल्थ केयर र केन्द्रीय निदान प्रयोगशाला तथा अनुसन्धान केन्द्र रहेका छन् । उक्त समितिमा डाक्टर मुकुन्द शर्मा, डा. अमृत पोखरेल र बलराम गौतम सदस्य छन् ।

ती अस्पताल र ल्याबहरुले विदेश जाने यात्रुहरुलाई नक्कली रिपोर्ट दिने गरेको पाइएकाले छानबिन समिति गठन गरिएको हो । नेपालमा नेगेटिभ रिपोर्ट आएका यात्रुहरुमा विदेशमा कोरोना संक्रमण पुष्टि भएपछि विभिन्न देशमा नेपाल एयरलाइन्सको उडान रोकिएको छ । हङकङ, युएईसहित केही देशमा उडान रोकिएपछि नेपाल एयरलाइन्सले सरकारी प्रयोगशालामा परीक्षण गरेकालाई मात्र उडान अनुमति दिने निर्णय गरेको छ ।

यसअघि प्रकाशित समाचारमा अन्यथा भएकोमा सच्याइएको छ । समाचारबाट पर्न गएको असरप्रति क्षमाप्रार्थी छौ । -सम्पादक

सम्बन्धित खबरहरु