कास्की । पोखरा महानगरपालिका-१८ क्याम्प चोकस्थित फिष्टेल कम्पनीको प्याराग्लाईडिङ ल्याण्ड गर्ने क्रममा सोमबार दिउँसो दुर्घटना हुँदा प्याराग्लाईडिङका पाईलट पोखरा महानगरपालिका-२८ कालिका घर भई हाल सोही महानगरपालिका-६ लेकसाईड बस्ने ३८ वर्षीय राजु गैरे नेपालीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा परि घाइते भएकी प्याराग्लाईडिङमा सवार काठमाडौं बुढानिलकण्ठ नगरपालिका-२ वासिकु बस्ने २८ वर्षीया शिला श्रेष्ठको सोही अस्पतालमा उपचार भईरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
भीरबाट लडेर मृत्यु
डडेलधुरा । नवदुर्गा गाउँपालिका-२ स्थित ढोडनाको भीरबाट लडेर सोही गाउँपालिका-२ बगाल बस्ने ३५ वर्षीया पुतली देवी भुल र उनको १३ दिनको छोराको सोमबार मृत्यु भएको छ ।
सापला भन्ने गाउँमा श्रीमान शेर बहादुर भुलसँग धामी झाक्री हेराउन जाने क्रममा भिरबाट करिब ३ सय मिटर तल खसेर उनीहरूको मृत्यु भएको हो । शेरबहादुरलाई सोधपुछका लागि नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।