काठमाडौं । वाग्मती प्रदेश प्रहरी कार्यालय मातहतका सबै प्रहरी कार्यालयमा कमान्डर वा प्रमुखलाई जवाफदेही बनाउन प्रदेश प्रहरी कार्यालयले प्रदेश प्रहरी प्रमुखसँग टेलिफोन संवाद कार्यक्रम शुरु गरेको छ ।

प्रहरी सङ्गठनभित्र सबैलाई थप जवाफदेही बनाउन र सबै तहका प्रहरी कर्मचारीलाई प्रदेश प्रहरी प्रमुखसँग आफ्नो समस्या वा गुनासो राख्न सहजता होस् भन्ने उद्देश्यले टेलिफोन संवाद शुरु गरिएको हो ।

तल्लो तहका प्रहरी कर्मचारीको गुनासो विभागीय रुपमा समाधान गर्ने उद्देश्यले सबै तहका कर्मचारीलाई प्रदेश प्रहरी प्रमुखसँग टेलिफोन संवादको व्यवस्थापन मिलाइएको प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाले जानकारी दिनुभयो ।

यो संवाद कार्यक्रमले सानो वा ठूलो तहका प्रहरी कर्मचारीले आफ्नो समस्या वा गुनासो आफू कार्यरत कार्यालयको प्रमुखबाट समाधान हुन नसके प्रदेश प्रहरी प्रमुखसँग सहजै रुपमा टेलिफोनमार्फत संवाद गर्न सक्नेछन् ।

आन्तरिक रुपमा सङ्गठनलाई व्यवस्थित गर्न र तल्लो तहका प्रहरी कर्मचारीको गुनासो वा समस्या माथिल्लो तहको कर्मचारीले व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी बोध गराउन संवाद शुरु गरिएको वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । तल्लो तहदेखि अधिकृतस्तरका कर्मचारीका लागि सातामा फरक फरक समय विभाजन गरी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षकसँग टेलिफोन संवाद गर्न सक्नेछन् ।

जुनियर प्रहरी अधिकृतहरुका लागि आज बिहान ९ देखि १० बजेसम्म दुई घण्टा, प्रहरी जवान र हबल्दारहरुका लागि शुक्रबार बिहान ९ देखि १० बजेसम्म दुई घण्टा र माथिल्लो अधिकृत दर्जा प्रहरी कर्मचारीका लागि जनुसुकै समयमा पनि प्रदेश प्रहरी प्रमुखसँग टेलिफोन संवाद गर्न सक्नेछन् । प्रहरी सङ्गठनलाई आन्तरिकरुपमा चुस्तदुरुस्त राख्न सो अभियानले सहयोग पुग्ने विश्वास लिइएको छ ।

सम्बन्धित खबरहरु