काठमाडौं । अचानक भएको जीप दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर १० बुड्डामा मंगलबार दिउँसो जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो । आज दिउँसो साढे १ बजेतिर ना १ ज २१९६ नम्बरको जीप सडकबाट एक सय मिटर तल खस्दा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ । प्रहरीका अनुसार दुर्घटनामा ४ जना घाइते पनि भएका छन् ।

दुर्घटनामा परि बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर ५ बस्कोटकी पार्वती चन्द , बस्कोटकै अर्की पार्वती चन्द , दशरथचन्द नगरपालिका वडा नम्बर ४ जर्गगाउँका भगिरथ पाण्डेय, दशरथचन्द नगरपालिका वडा नम्बर २ देहिमाडौंका कृष्ण लावड र सुनर्या गाउँपालिका वडा नम्बर ४ की कलावती चन्दको मृत्यु भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

मृतक र घाइतेहरु सबै भारतीय बजार झुलाघाटबाट पेन्सन बुझेर फर्कदै थिए । मृतक कृष्ण लावड ५८ वर्षका छन् भने अन्य सबै ७० वर्षमाथिका रहेका छन् । दुर्घटनामा घाइते भएकाहरुको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको जनाइएको छ । ११ जना सवार जिपमा रहेका २ जना यात्रु भने सकुशल छन् । जिप चालक गोपाल कार्की फरार रहेको बताउँदै खोजि भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित खबरहरु