भद्रपुर । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले सुखानी शहिद स्मृति उद्यानको विकासमा सरकारले सहयोग पु¥याउने आश्वासन दिनुभएको छ । निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाको अनुगमनका लागि सोमबार झापा आउँनुभएका मन्त्री श्रेष्ठले मङ्गलबार झापाको सुखानी शहिद स्मृति उद्यानका बारेमा जानकारी लिदै यस्तो बताउनुभएको हो ।

मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि झापा विद्रोह र सुखानीका शहीदको बलिदानी सदैव स्मरणीय भएको बताउँनुभयो । सो अवसरमा प्रतिष्ठानका अध्यक्ष देवराज घिमिरेले उद्यानको गुरुयोजना मन्त्री श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा मन्त्री श्रेष्ठले भुमिगत कालमा आफुले राजनीति गरेको झापामाको अवस्था बुझ्न र शहिदप्रति सम्मान गर्न आफु झापा आएको बताउनुभयो ।प्रतिष्ठानको हाताभित्र रहेका सुखानीका पाँच शहीदको शालिकमा मन्त्री श्रेष्ठले श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । प्रतिष्ठानभित्र रहेको पर्यटकीयस्थल र कछुवा संरक्षण केन्द्रका बारेमा समेत जानकारी लिनुभएको थियो । सो अवसरमा मन्त्री श्रेष्ठले उद्यानमा सरसफाइ र सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिनुभएको थियो । उहाले पार्कलाई व्यवस्थित रुपमा सञ्चालन गर्न आग्रह गर्नुभयो ।

 

वि.सं २०२९ को झापा विद्रोहका क्रममा पक्राउ परेका कम्युनिष्ट युवा रामनाथ दाहाल, वीरेन राजवंशी, नेत्र घिमिरे, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई तत्कालीन पञ्चायती सरकारले झापाको चन्द्रगढी कारागारबाट कारागार सार्ने निहुँमा इलाम र झापाको सिमानास्थित सुखानी जङ्गलमा लगी गोली हानेर हत्या गरेको थियो ।

 

सुखानीमा बलिदान दिएका शहीदका स्मृतिमा झापाको अर्जुनधारा नगरपालिका वडा नं ९ सालबारीमा विशाल उद्यान, कछुवा संरक्षण केन्द्र र पाँच शहीदको पूर्ण कदको शालिकसहितको प्रतिष्ठान स्थापना गरिएको छ । सो अवसरमा मन्त्री श्रेष्ठले मन्त्री श्रेष्ठ सहितको मन्त्रालय स्तरको उच्च टोलीले सोमबार झापाको विभिन्न १० स्थानमा बनेका र बन्ने योजनाको अवलोकन गरेको थियो । स्थानीय देखि राष्ट्रिय गौरवका योजनाको निर्माण कार्यको अवस्थाबारे जानकारी लिँदै कोरोना कहरले प्रभावित योजनालाई अव उच्च गतिमा तीव्रता दिने बताइएको छ । अवलोकन गर्दै मन्त्री श्रेष्ठले कोरोना कहरका कारण अव कुनै पनि भौतिक विकासका कार्यहरू नरोकिने र उच्च सतर्कता अपनाएर कामलाई निरन्तरता दिने बताउनुभयो ।

 

टोलीले मन्त्रालय अन्तर्गत सघन सहरी विकास आयोजना झापा मार्फत भएको कमल, गौरादह, गौरीगंज र दमका सडक, अस्पताल, भवन, विपन्न आवास र राष्ट्रिय गौरवको आयोजना भ्यूटावर समेतको अवलोकन तथा अनुगमन गरेको छ । अनुगमनको क्रममा मन्त्री श्रेष्ठले दमकमा निर्माणाधीन भ्यूटावर देशकै गौरव र आधुनिक शैलीमा निर्माण हुने पहिलो ठुलो योजना भएकोले यसलाई सबैले सहयोग गरेर समयैमा सक्नु पर्ने बताउनु भएको छ ।

 

राष्ट्रिय महत्व र बहुवर्षीय योजनामा रहेको सो भ्यू टावर व्यवसायिक भ्यू टावर हो । भ्यू टावरको करिब ३० प्रतिशत काम पुरा भएको छ । माटोको सतहमुनिको काम पुरा भएर माथिल्लो तहमा ढलाई गर्ने चरणमा रहेको सम्बद्ध निर्माण पक्षले जनाएको छ ।

 

चालू आर्थिक वर्षमा संघीय सरकारले सोका लागि ४० करोड रुपैया विनियोजन गरिसकेको छ । त्यहा डेढ अर्ब भन्दा बढीको सरकारी लगानी रहनेछ । भ्यू टावर निर्माणको जिम्मा चिनिया कम्पनी जेसिडिआइइसी र नेपाली कम्पनी आशिष ओमसाई जेभीले लिएको छ । भ्यू टावर निर्माणका लागि स्थानीयले ५ बिगाह जग्गा निशुल्क रुपमा प्रदान गरेका छन् ।

 

२५ तला पक्की संरचना बन्ने त्यसमाथि थप ५ तलाको स्टिलको संरचना बन्ने जनाईएको छ । यो भ्यू टावर निर्माणपछि त्यहा विदेशी पर्यटकहरु समेत भित्रिने भएकाले दमक र समग्र देशकै पर्यटन तथा व्यवसायिक विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

 

 

मन्त्री श्रेष्ठले दमकको निर्माणाधिन दमक सभा गृह , दमक बसापार्क र आजै गौरादह र गौरीगञ्जमा समेत मन्त्रालय अन्तर्गतका चालू तथा सम्पन्न भएका योजनाहरुको स्थलगत जानकारी लिनुभएको थियो ।

 

टोलीको कमलको केर्खा बजारको सडक, विपन्न आवास, पूर्वाञ्चल आयुर्वेदिक औषाधाल, गौरादहको सडक, गौरीगंजको सुरक्षित आवास, बजार, दमकको बहुतले बसपार्क, दमक सभागृह, भ्यूटावर, चुलाचुली ढुङ्गे सडक समेतको अनुगमन तथा अवलोकन गरेको टोलीका सहजकर्ता नेकपाका नेता होमबहादुर थापाले जानकारी दिनुभयो ।

 

कोभिडका कारण केही स्थानमा ढिलाइ भइरहेको कामलाई समेत उच्च प्राथमिकता दिएर थालिएको सहरी विकास मन्त्रालयका सचिव डा. रमेश प्रसाद सिंहले बताउनु भयो । झापापछि मन्त्री श्रेष्ठ मोरङका विभिन्न कार्यक्रममा सहभागि हुन जानुभएको नेकपा झापा प्रचार विभाग झापाले जनाएको छ ।

 

 

सम्बन्धित खबरहरु