काठमाडौं । विश्वका दोस्रो सबैभन्दा धनि व्यक्ति बिल गेट्सलाई नसोचेको धक्का लागेको छ । उनलाई पछि पार्दै अर्का अर्बपति एलन मस्क विश्वको दोस्रो सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् ।

 

ब्लूमबर्गको बिलिनियर इन्डेक्सअनुसार टेस्लाको शेयर भाउ बढेसँगै उनको सम्पति पनि सात अर्ब २० करोड डलर बढेको हो । यससँगै उनी अहिले एक खर्ब २७ अर्ब ९० करोड डलरका मालिक भएका छन् । मस्कले केही समयअघि मात्र फेसबुकका सीईओ मार्क जुकरबर्गलाई उछिन्दै सबैभन्दा धनी मानिसको सूचीमा तेस्रो स्थानमा आएका हुन् ।

 

सन् २०२० मा मात्र मस्कको सम्पत्ति एक खर्ब डलरले बढेको विभिन्न रिर्पोटहरुमा खुलासा भएको छ । विद्युतीय कार निर्माता कम्पनी टेस्लाका सीईओ रहेका मस्क सबैभन्दा धनी मानिसको सूचीमा अमेजनका सीईओ जेफ बेजोसभन्दा पछाडि छन् ।

 

अहिलेको अवस्थामा बेजोस विश्वको सबैभन्दा धनी व्यक्ति हुन् । माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स भने सबैभन्दा धनी व्यक्तिको सूचीमा तेस्रो स्थानमा झर्नु परेको छ । उनको कुल सम्पत्ति एक खर्ब २७ अर्ब ७० करोड डलर छ ।

 

 

सम्बन्धित खबरहरु