काठमाडौं । प्रजातन्त्र सेनानी दिलबहादुर कामी (घोइरो कामी) को ८४ वर्षका उमेरमा निधन भएको छ । गण्डकी प्रदेशअन्तर्गत लमजुङ मध्यनेपाल नगरपालिका–७ इशानेश्वरमा बस्दै आउनुभएका कामीको आफ्नै निवासमा मङ्गलबार साँझ निधन भएको हो ।

गत जेठदेखि उहाँमा दम र मुटुको समस्या बल्झिएको थियो । अस्वास्थका कारण आफ्नै निवासमा कष्टकर जीवन बिताउँदै आउनुभएको थियो । नेपाली काँग्रेस जिल्ला कार्यसमिति लमजुङका सभापति भेषबहादुर पौडेलको उपस्थितिमा आज उहाँको अत्यष्टि गरिने जिल्ला कार्यसमितिका पूर्व सचिव आनन्द घिमिरेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “उहाँको निधनले हामीलाई दुःखी तुल्याएको छ ।” प्रजातन्त्र सेनानी कामीका एक छोरा, एक बुहारी, चार छोरी र छोरापट्टीका एक नाति हुनुहुन्छ । श्रीमतीको भने करिब दुई दशक अघि नै निधन भइसकेको छ । उहाँ नातीसँग बस्दै आउनुभएको पार्टीले जनाएको छ ।

प्रजातन्त्र सेनानी कामी बिपी स्मृति ट्रस्टद्वारा विसं २०७२ मा सम्मानित हुनुभएको थियो । घोइरो कामीले विसं २००६ मा राणा शासनका विरुद्धमा काँग्रेसको झण्डा देखाएर मुलुकमा प्रजातन्त्र स्थापनाको आह्वान गर्नुभएको थियो । विसं २००६ मा काँग्रेसद्वारा आह्वान गरिएको राणा शासनको विरुद्धमा झण्डा बोकेर जिल्लाको इशानेश्वर भेगमा गरेको प्रदर्शनको सम्मानस्वरुप प्रजातन्त्र आएपछि नवलपरासी जिल्लामा तीन कट्ठा जग्गासमेत बकस प्राप्त गर्नुभएको थियो ।

उक्त जग्गा बिक्री गरेर उहाँ यस लमजुङको तत्कालीन इशानेश्वर गाविसको चिसङ्कु गाउँबाट लमजुङकै भोर्लेटारमा बसाइँसराइ गरेर बस्दै आउनुभयो । बिपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको निकट रहेर राजनीतिमा होमिएका घोइरो कामी काँग्रेसका साहसी, अनुशासित तथा इमान्दार कार्यकर्ताका रुपमा चर्चित हुनुहुन्थ्यो ।

त्यति बेला काँग्रेस नेता भट्टराईले कामीको इमान्दारी देखेर आफूले लगाएको कोट फुकाली लाउन दिएको र कामीले उक्त कोटमा पैसा रहेछ भन्दै भट्टराईलाई पैसा फिर्ता गरेको प्रसङ्ग काँग्रेस वृत्तमा चर्चाको विषय बनेको थियो ।

सम्बन्धित खबरहरु