काठमाडौं । बढ्दो प्रदर्शनलाई रोक्न महोत्तरीमा निषेधाज्ञा जारी गरिएको छ । बालिकाको मृत्युपछि प्रदर्शन चर्किएपछि महोत्तरी प्रशासनले बर्दिबास नगरक्षेत्रमा गरेको निषेधाज्ञा लगाएको हो । तर प्रदर्शनमा उत्रिएका स्थानीयवासीले प्रहरीमाथि नै आएका छन् । प्रदर्शनकारीका कारण २ जना प्रहरी घाइते भएका छन् ।

बुधबार बिहान ९ बजेदेखि बिहीबार बिहान ६ बजेसम्म प्रशासनले निषेधाज्ञा लगाएको भएपनि प्रदर्शनकारीले त्यसको अवज्ञा गर्दै आफ्नो माग सम्बोधन हुनुपर्ने भन्दै विरोध प्रदर्शन गरिरहेका छन् । प्रहरी जवान अर्जुन प्रसाद बानियाँको चिउडोमा चोट लागेको छ भने अर्का एक प्रहरीको घुँडामा लागेको छ ।

उनीहरुलाई उपचारका लागि अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय बर्दिवासका डीएसपी राजन चापागाईंले जानकारी दिनुभयो । निषेधाज्ञाको समय प्रदर्शन र नाराबाजी गरेको भन्दै प्रहरीले अश्रु ग्यास प्रयोग गरेपछि स्थानीयले प्रहरीलाई ढुंगा मुढा गरेका हुन् । स्थिती असामान्य बनेपछि प्रहरीले निरन्तर बल प्रयोग गरिरहेको छ ।

प्रदर्शनका क्रममा मंगलबार प्रहरीको कारबाहीमा घाइते भएका सञ्जय न्यौपानेको मृत्यु भएपछि स्थिती झन् जटिल बनेको हो । मृतक सञ्जयलाई शहिद घोषणा गर्नुपर्ने, पीडित र घाइतेलाई उपचार गर्दै क्षतिपूर्ति तिर्नुपर्ने र बालिका प्रकरणमा संलग्नलाई कडा कारबाही गर्नुपर्ने सर्वपक्षिय माग राखेका छन् ।

सम्बन्धित खबरहरु