काठमाडौं । विश्वले एक चर्चित पूर्व फुटबल खेलाडी गुमाएको छ । अर्जेन्टीनाका एक पूर्व फुटबल खेलाडी डिएगो आर्मैन्डो माराडोनाको आज निधन भएको खबर आएको छ । सधैँ चर्चामा र त्यसभन्दा पनि बढी त विवादमा रहनु सायद डिएगो अर्मान्डो म्याराडोनाको विशेषता थियो ।

 

पहिले खेलाडीका रूपमा उनी चर्चामा छाइरहन्थे, पछि अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक बनेर चर्चा कमाउन सफल भएका थिए । त्यसो त बालक छँदैदेखि उनको चर्चा सुरु भएको हो, जतिखेर उनी केवल दस वर्षका थिए ।

 

त्यतिबेला म्याराडोनालाई ठूला प्रतियोगिताहरूमा मध्यान्तरका बेला मैदानमा बोलाईन्थ्यो, जहाँ उनी आफ्नो फुटबल सन्तुलन कला देखाएर दर्शकलाई मन्त्रमुग्ध पार्थे । उनले खेलाउन थालेपछि बल कहिले खुट्टामा, कहिले टाउकामा, कहिले घुँडामा, ढाडमा, काँधमा अनि कहिले तिघ्रामा हुन्थ्यो ।

 

बल त खस्नै नपाउने कला उनले सिकेका थिए । पछि गएर, म्याराडोनाको यो बल–सन्तुलन कला स्थानीय एटलान्टा रंगशालामा लामो समयसम्म दर्शकको अनुरोधमा परम्पराजस्तै बन्यो । त्यसैताका दसवर्षे म्याराडोनालाई पहिलोपटक टेलिभिजनले अन्तर्वार्ता लिँदै भविष्यको योजनाबारे सोधेको थियो ।

 

म्याराडोनाले सहज तरिकाले जवाफ दिँदै भनेका थिए, राष्ट्रिय टोलीबाट खेल्दै विश्वकप उपाधि जित्नु मेरो कल्पना, सपना र जपना हो । नभन्दै २६ वर्षको उमेरमा सन् १९८६ मा उनले झन्डै आफू एक्लैको भरमा अर्जेन्टिनालाई विश्वकप उपाधि जिताइछाडे ।

 

त्यो विश्वकपलाई ‘कोपा म्याराडोना’ अर्थात् म्याराडोनाको विश्वकप भन्ने गरएिको छ । चार वर्षपछि उनकै नेतृत्वमा अर्जेन्टिना फेरि एकपटक विश्वकपको फाइनलमा पुग्न सफल भएको थियो । स्पेनको बार्सिलोना क्लबमा उनी सधैँ सम्मानित छन् ।

 

अझ, उनी लामो समयसम्म आबद्ध रहेको इटालीको नेपोली क्लब त उनलाई आफ्नो भगवान् नै मान्छ । उनको जीवनमा अनेक उतारचढावहरू आएका थिए । चर्चित फुटबलर माराडोनाको हृदयघातका कारण मृत्यु भएको हो ।

 

 

सम्बन्धित खबरहरु