बैतडी । बिहान चार बजे अध्यारोमै ४० लिटरको जरकिन बोकेर म पानी भर्न गए। ढिला भयो भने पानी भर्न पालो कुर्नुपथ्र्यो । एक जरकिन पानीका लागि आधा दिन बर्वाद हुन्थ्यो। त्यो दिन एक घण्टा टाढाको कुवा (नोला) बाट पानी भरेर फर्किदै थिए। ऊ अर्थात दिपक धामी बाटो ढुकेर बसेको रहेछ। नाताले मेरो भदाहा पर्छ । घर पनि नजिकै पर्छ।

रातीको समय । सुनसान थियो । पानी भर्न आउने मानिसहरु कोही थिएनन्। उसले बाटोको माथिपट्टीबाट एक्कासी हाम फालेर च्याप्प समात्यो। हातमा रहेको मोबाईलको बत्ती खोेसेर फालिदियो । पिठ्युमा बोकेको जरकिन भुईमा खस्यो।

पछ्यौरीले मु’ख ब’न्द गरेर तल १५ मिनेट टाढा जंगलमा लग्यो । र मलाई त्यही सबथोक ग¥यो । ऊ त्यहाँबाट भागेर गयो । कता गयो भन्ने थाहै भएन । मेरो होस ठेगानमा थिएन । एकछिनपछि बल्लतल्ल सम्हालिएर अध्यारोमै लडिबुडी गर्दै बाटोसम्म आए । हात र खुट्टाले टेक्दै जसोतसो घर पुगे । घर पुग्दासम्म मिर्मिरे उज्यालो हुन लागेको थियो।

त्यसपछिको केही दिन घरमै चुपचाप बसे । कही जान मन लागेन । केही काम गर्न पनि मन लागेन । म माथि गलत भयो भन्ने त थाहा थियो । तर न्यान माग्न कहाँ जाने भन्ने मेरो विवेकले ठम्याउन सकेन । उसको परिवार गाउँमै बलियो र सम्पन्न थियो । हामी गाउँकै कमजोर मध्येका प¥यौं । बुवाको मस्तिष्क अवस्था ठिक छैन् । सानो भाई छ । दाई कमजोर र सोझो छ । घरमा बोल्न सक्ने मान्छे पनि कोही छैन्।

मेरो महिनावारी हुने समय हरेक महिनाको २९ गते थियो। २३ गते त्यो घटनापछि जेठ महिनाको महिनावारी रोकियो। पेटमा गर्भ बसेको कुरा सहजै अनुमान गरे । घरमा पनि थाहा नहुने कुरै थिएन् । नजिकै घर भएकाले सायद परिवारबाटै केटा पक्षले थाहा पाएछ । त्यसपछि दिपकले एउटा ठूलो खालको र दुईवटा साना साना ट्याबलेट खुवायो । असार ८ गते असहज भयो सायद गर्भ बिग्रियो ।

त्यसपछि असार १४ गते गाउँमा भेला बस्यो । वडा कार्यालयबाट पनि मानिसहरु आए । गाउँका सबै जान्ने बुझ्ने मान्छे भेला भए । घटना घटाउने केटा पनि आएको थियो । गाँजरी प्रहरी चौकीबाट प्रहरी पनि आए । थलाकाँडातिरका रोकाय थरका प्रहरीको नेतृत्वमा प्रहरीहरु आएका थिए । उसलाई देख्यो भने म चिन्न सक्छु ।

प्रहरीले गाउँको कुरा गाउँमै मिलाउने भन्यो । हाम्रो घरमा आएर अब देखि कसैसँग केही कुरा नगर्नु भन्यो । प्रहरीकै सक्रियतामा कागज बन्यो । तर कागजमा प्रहरीको उपस्थीति थिएन् । उक्त कागज अनुसार मलाई एक तोला सुन दिनुपर्ने थियो । मनले नमाने पनि गाउँका सबै जान्नेसुन्ने र प्रहरीले समेत मिल्नुपर्छ भनेर दबाव दिएपछि मन नहुँदा नहुँदै पनि कागजमा औंठा छाप र हस्ताक्षर गरे । घटना गराउने केटाको परिवारसँग प्रहरी र गाउँलेहरुले गराएका कागज अनुसार एक तोला सुन दिन भनियो ।

प्रहरीको उपस्थितिमा बनेको कपाली तमसुक
त्यही दिन केटाले फेरि चेतवानी दियो । ‘म सँग पैसा छ, मान्छे छन । तलाई जेल हाल्छु, त्यहाँ पनि तँलाई यही घटना दोहोर्याई दिन्छु । म भागेर इण्डिया जान्छु’ उसले भन्यो । ‘त्यो सँग पैसा छैन । न बोल्न सक्ने कोही मान्छे छ । न कही जान सक्छ । न केही गर्न सक्छ’ भनेर सबैले खिल्ली उडाए । गाउँभरी हाँसोको पात्र बनाए ।

म रुदारुदै घर फर्किए ।
कार्तिक भित्र एक तोला सुन दिनुपर्ने थियो। उनिहरुले दिन मानेनन् । ‘कसैले जे गर्छस गर’ भने। कसैले ‘गाउँमा चन्दा उठाएर दिउला’ भने। फेरि गाउँमा मजाकको पात्र बनाए । मेरै बिषयलाई लिएर गाउँभरी तमासा भयो।

घरमा बोल्न सक्ने पुरुष मान्छे नभएपछि दिदीको सहयोगमा हिम्मत गरेर न्याय माग्न सदरमुकाम आए । हामी सदरमुकाम आएपछि उसको काकाको छोराले बुवालाई हात हालेछ । गालाको हड्डीमा क्षति भएको छ भन्छन । ‘रुपैया माग्ने ठूलो हुन्छस’ भन्दै फेरी त्यहाँ घटना घटाएछ ।

मलाई नि दिनुसम्म चेतवानी दिएका छन्। ‘गाउँ फर्केपछि फेरि त्यही घटना दोहोर्याँछौ’ जीवन त रहने नै छैन । दाईलाई तेरो बहिनी अगाडि लगाएको छस् । तलाई पनि देखाउछौ भनेका छन् रे ।

घरमा बोल्न सक्ने न दाई भाई भए, न आफन्त । आफन्तले त घटना घटाएर यो हालतमा पु¥याएका छन् । त्यही भएर दिदी बहिनीले हिम्मत गरेका हौं । कहाँ गएर के के गर्नुपर्ने हो थाहा त केही पनि छैन् । तैपनि अति भएपछि दुःख गरेर यहाँ आएका हौं।

केही समय अघि शिक्षकले आफ्नै विद्यार्थी माथीको त्यो घटना चर्चामा आएको सिगासमा फेरि उस्तै प्रकृतिको घटनामा पीडित किशोरीले गरेको कुराकानी हो यो । अति भएपछि एक जना आफन्त र आफ्नै दिदी सँग कहिल्यै नदेखेको सदरमुकाम आएकी थिइन् । आफू बसेको होटेल कुन हो भन्ने सम्म थाहा थिएन् । कुन ठाउँमा बसेका छौ भन्ने पनि उनिहरुले बुझ्न सकेका थिएनन् । जिल्ला प्रहरी कार्यालय कता पर्छ त्यो पनि थाहा छैन् ।

एउटा झुत्रो झोलामा अघिल्लो दिन घरबाटै पकाएर ल्याएका केही रोटी थिए । त्यही खाएर रात कटाउने तयारीमा रहेका उनिहरुले खल्तीमा एक पैसा नभएपछि घरबाटै एक दुई दिन पुग्ने रोटी पकाएर ल्याएका रैछन् । त्यही खाएर रात कटाउने तयारीमा लागेका बेला केही संञ्चारकर्मी र मानवअधिकारकर्मीले भेटेपछि घटनाबारे कुराकानी सम्भव भयो ।

यस्तो गम्भीर घटनालाई सामान्य भन्दै गाउँमा मिलापत्र गराएको कागज पीडितले हामीलाई देखाईन् । मिलापत्रमा घटनाका आरोपी दिपक र उनको औंठाछापसँगै हस्ताक्षर थियो । उनलाई एक तोला सुन कार्तिक ३० गतेभित्र दिने भनिएको थियो । उक्त सुन दिनुको सट्टा उल्टै चेतवानी दिन थालेपछि घटना बाहिर आएको हो ।

मिलापत्रको साँक्षीमा सिगास गाउँपालिकाका रोजगार संयोजक राजेन्द्र सिंह धामीले हस्ताक्षर गरेका छन् । त्यस्तै मिलापत्रमा साँक्षी बस्ने नरेन्द्रसिंह धामी गाँजरी शिक्षा क्याम्पसमा अध्यापन गर्ने ब्यक्ति रहेको पीडितले बताएकी छन् । साँक्षी रहेका अर्का स्थानीय ब्यक्ति गोपाल सिंह धामी छन् ।

यस्तो गम्भीर घटनाका पीडक मात्रै होइन मिलापत्र गराउनेहरु सजायको भागिदार हुन्छन् । अहिलेको कानूनले त्यो भन्छ । यो घटनामा गाउँकै जान्नेसुन्ने र प्रहरीको समेत संलग्नता देखिएको छ । पीडितहरु न्यानका लागि जिल्ला सदरमुकाम आएकाले यो घटनामा प्रहरीको आगाडि कदम कस्तो हुनेछ ? त्यो भने हेर्न बाँकी छ । तर यी पिडितलाई तत्काल सहयोगको खाँचो छ । तपाईहरु जो नजिक हुनुहुन्छ उहाँहरुलाई सहयोग गरेर मानवता जगाउनुहोस् ।

सम्बन्धित खबरहरु