काठमाडौ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भारतीय विदेश सचिव हर्षबर्धन श्रृङ्गला शिष्टाचार भेटवार्ता गर्न देउवा निवास पुगेका छन् । नेपालको परराष्ट्र मन्त्रालयसँग यो भेटको कुनैपनि योजना थिएन ।

 

उनले यहाँ कुटनैतिक पूर्व योजना मिचेको देखिन्छ । सभापति देउवा निवास बुढानिलकण्ठमा आज साँझ भएको भेटवार्तामा उहाँहरुबीच नेपाल–भारत बहुआयामिक सम्बन्धबारे छलफल भएको भेटमा सहभागी पूर्वराजदूत दिनेश भट्टराईले जानकारी दिनुभयो ।

 

भेटमा सभापति देउवाले काँग्रेसले सदैव नेपाल–भारतबीचको सम्बन्धलाई उच्च महत्व दिएको उल्लेख गर्दै नेपालको प्रजातन्त्रको संस्थागत विकासमा सदैव भारतको नैतिक समर्थन रहँदै आएको बताउनुभएको थियो ।

 

सभापति देउवाले दुवै मुलुकबीच सम्झौता भएका परियोजनाको शीघ्र र प्रभावकारी कार्यान्वयन हुँदा त्यसले राम्रो सन्देश जाने र दुवै देशको हित हुने विषयमा समेत जोेड दिनुभएको सभापति देउवा प्रधानमन्त्री हुँदा उहाँका सल्लाहकार रहिसक्नुभएका भट्टराईले बताउनुभयो ।

 

 

भेटमा दुवै मुलुकबीच उच्च राजनीतिक सम्पर्क र सम्बन्ध निरन्तर रहिरहनुपर्ने, दुवै देशबीच बाँकी रहेका मुद्दाहरु समाधान गरेर जाँदा सम्बन्ध थप सुदृढ हुनेलगायत विषयमा पनि विचार विमर्श भएको थियो ।

 

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालको मैत्रीपूर्ण निमन्त्रणामा सचिव श्रृङ्गला दुई दिवसीय भ्रमणका लािग आजै काठमाडौँ आउनुभएको हो ।

 

 

सम्बन्धित खबरहरु