काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि मतदान शुरु भएको छ । जिल्ला नगर तर्फका लागि काठमडौँ कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा, एसोसिएट तर्फका लागि कार्की ब्याङ्केट थापाथलीमा र वस्तुगत तर्फको लागि महासंघको केन्द्रीय कार्यालय टेकुमा विहान आठ बजेदेखि मतदान शुरु भएको हो ।

 

यस्तै कोरोना संक्रमित मतदाताहरुका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा मतदानको व्यवस्था मिलाइएको छ । आज राती नै मत गणना सम्पन्न गरेर परिणाम घोषणा गर्ने तयारी छ ।

 

महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुन पाउने व्यवस्था भए अनुसार हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष बन्दै छन् । बाँकी पदहरुमा निर्वाचन हुनेछ ।

 

 

महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि वर्तमान उपाध्यक्षद्वय चन्द्रप्रसाद ढकाल र किशोर प्रधान चुनावी मैदानमा प्यानल सहित उत्रिएका छन् । त्यस्तै वस्तुगत तर्फ उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठको प्रतिस्पर्धा हुनेछ । जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी र दिनेश श्रेष्ठ प्रतिस्पर्धामा छन भने एसोसिएट तर्फको उपाध्यक्ष पदमा रामचन्द्र संघाई र शौरभ ज्योति प्रतिस्पर्धामा छन् ।

 

यस्तै, जिल्ला नगरतर्फ १८ जना कार्यकारिणी सदस्यका लागि ३८ जना, प्रदेशतर्फ ६ जनाका लागि १४ जना, वस्तुगत संघतर्फ १४ जनाका लागि २९ जना, एसोसिएटतर्फ १९ जनाका लागि ३३ जना र संस्थापक सदस्यतर्फ एक जनाका लागि तीन जना उम्मेदवार छन् ।

 

महासंघको नयाँ नेतृत्वमा पुग्नका लागि एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ६० कार्यकारिणी सदस्यका लागि १ सय २७ जना चुनावी मैदानमा छन् । कार्यकारिणी सदस्यतर्फ राजेन्द्र राउत र संदीप अग्रवाल निर्विरोध निर्वाचित भैसकेका छन् ।

 

 

सम्बन्धित खबरहरु