विराटनगर । मोरङको सुन्दरहरैँचा र उर्लाबारीमा शनिबार राति भएको सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ। सुन्दरहरैँचा नगरपालिका–९ चाँदनी पेट्रोलपम्प अगाडि राति ९ः३० बजेतिर स्कुटर र ट्याक्टर ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

 

पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को ३८ प १६६५ नम्बरको स्कुटर र विपरित दिशातर्फ जाँदै गरेको को २ त ३१९६ नम्बरको ट्याक्टर एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

 

 

प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका डीएसपी सुमन तिमल्सिनाका अनुसार दुर्घटनामा परेर स्कुटर चालक सुन्दरहरैँचा–९ का ४२ वर्षीय मकेश्वर चौधरीको मृत्यु भएको छ। दुर्घटनामा परेर गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा ज्यान गएको तिमल्सिनाले बताए। ट्याक्टर चालक फरार रहेका कारण खोजी भइरहेको प्रहरीले जनाएको छ।

 

त्यस्तै उर्लाबारी नगरपालिका–८ स्थित इटहरा–उर्लाबारी सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ गइरहेको मे ४ प ९२८५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।

 

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको डीएसपी तिमल्सिनाले बताए। दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा अरनिको अस्पताल उर्लाबारीमा ज्यान गएको हो। मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।

 

दुर्घटनामा मोटरसाइकल चालक उर्लाबारी–८ का ३० वर्षीय उपेन्द्र दनुवार गम्भीर घाइते भएका छन्। टाउकोमा चोट लागेका उनको उर्लाबारीमै उपचार भइरहेको तिमल्सिनाले बताए।

 

 

सम्बन्धित खबरहरु