कञ्चनपुर । भिमदत्त नगरपालिका-१८ बस्ने २४ वर्षीय दिपक नाथलाई १ हजार दरको ३ वटा नक्कली जस्तो देखिने नोट सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । दिपकले भिमदत्त नगरपालिका-४ स्थित एक पसलबाट सामान किनी पैसा दिने क्रममा नक्कली नोट दिएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त नोट सहित फेला पारी पक्राउ गरेको हो ।

 

उनले उक्त नोट कुनै स्थानमा खरिदबिक्रि कै क्रममा लिएको बयान दिएका छन् । आफुले नक्कली वा सक्कली नोट नचिनेका कारण किनमेलमा रकम लिएको बताएका छन् । को कति आए र कसले पसलबाट किनेर लगे भन्ने आफुलाई जानकारी नभएका कारण आफु अन्यौलमा रहेको बताएका छन् । कुनैपनि कारोबारमा पैसा लिने बेलामा रकम नक्कली हो वा सक्कली ख्याल गर्नुहोला । अन्यथा तपाई नै फस्नुहुनेछ ।

 

नेपाली नोट नक्कली वा सक्कली कसरी चिन्ने ?

बेलाबेलामा बजारमा नेपाली रूपैयाँका नक्कली नोट फेला पर्छन्। केही दिनअघि पनि पाँच सय र एक हजार दरका नक्कली नोट बजारमा भेटिएको समाचार आए। नेपाल राष्ट्र बैंक तथ्यांकअनुसार गत वर्ष एक हजारका ६ सय वटा र पाँच सयका ४ सय ५० वटा नक्कली नोट भेटिएका थिए।

 

यसपालि झनै ठूलो मात्रामा नक्कली नोट भेटिइरहेका छन् । नक्कली नोट कसरी चिन्नेबारे राष्ट्र बैंकले आफ्नो वेवसाइटमा जानकारी राखेको छ। झट्ट हेर्दा उस्तै देखिन्छ। नक्कली नोट भनेर कसरी चिन्ने त ? हामीले यो प्रश्न नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलालाई सोध्यौं।

 

निरौलाले भने– नक्कली नोट चिन्ने दुई वटा तरिका छन्, हेरेर र छामेर। तपाईं एक हजारको नोटको दायाँ पुच्छर भागलाई उज्यालोतिर ठड्याएर हेर्नुस्, त्यहाँ लालीगुँरास देखिन्छ। जसलाई पानी छाप भनिन्छ। प्रवक्ता निरौलाले भने, ‘नक्कली नोट हेरेर पत्ता लगाउने यो एउटा तरिका हो। अरू पनि धेरै तरिका छन्।’

 

नोटको बीच भागको तलपट्टी अङ्ग्रेजी अक्षरमा ‘एनआएबी’ लेखेको हुन्छ। नक्कली नोटमा यो कुरा ख्याल गर्नुपर्छ। यस्तै नोटको बीच भागमा एउटा ठाडो टल्किने धर्का हुन्छ। यसलाई सुरक्षण धागो भनिन्छ। सो धर्कालाई उज्यालोतिर फर्काएर हेर्दा त्यहाँ पनि सानो अक्षरमा ‘एनआरबी’ लेखेको हुन्छ।

 

नोटको पछाडिको दायाँ भागमा गाढा सुनौलो रङ हुन्छ। नोट जति पुरानो र मैलो भए पनि यसको रङ बिग्रिदैन। नक्कली नोटहरूमा यस्तो गाढा रङ हुँदैन। यस्तै सक्कली नोटमा पानीको थोपा पर्‍यो भने केही हुँदैन। तर नक्कली नोटमा पानीको थोपा पर्‍यो भने रङहरू पोतिने हुन्छ। प्रवक्ता निरौलाले भने, ‘हेरेर नक्कली नोट थाहा पाउने तरिका यिनै हुन्।’

 

नक्कली नोट चिन्ने अर्को तरिका हो छाम्ने। सक्कली नोट छाम्दा खस्रो हुन्छ। चाहे त्यो नयाँ होस वा पुरानो। ‘नक्कली नोट चिल्लो हुन्छ,’ उनले भने, ‘मानिसहरूले नोट हातमा पर्दा सुरूमा यही कुरा ख्याल गर्नुपर्छ।’ यस्तै नयाँ नोटलाई औंलाले हान्यो भने आवाज कडा आउँछ। नक्कली नोटमा यस्तो आवाज आउँदैन।

 

यो जानकारी सबैमा सेयर गर्नुहोस् । अनावश्यक झमेला साथै देश र नागरिक ठगिनबाट बचाउनुहोस् ।

सम्बन्धित खबरहरु