रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले सबै धर्म र संस्कृतिको सम्मान र जगेर्ना गर्ने समान अवसरलाई झन फराकिलो बनाएकोे बताउनुभएको छ ।

 

श्री गुरुनानकको ५५२ औँ जन्मजयन्तीको अवसरमा आज शुभकामना दिँदै उहाँले नेपाल जाति, धर्म–संस्कृति र भूगोलमा विविधतायुक्त मुलुक भएको र यही विविधतायुक्त नेपाली समाजको पहिचान विशाल र ओजिलो बनेको उल्लेख गर्नुभयो ।

 

धार्मिक र सांस्कृतिक विविधतायुक्त मुलुकमा सबै धर्मको सम्मान र संस्कृतिको जगेर्ना हुने वातावरण तयार भएको उहाँको भनाइ छ । “धर्म र संस्कृति जाति र समुदाय विशेषका नभएर सबैका साझा हँुदै गएका छन्, जसले समाजमा भ्रातृत्व र मेलमिलापको वातावरण बनाएको छ”, मुख्यमन्त्री पोखरेलले उल्लेख गर्नुभएको छ ।

 

 

काठमाडौँका विभिन्न स्थानमा रहेका प्राचीन गुरुनानक मठमा हस्तलिखित गुरुग्रन्थ रहेको बताउँदै उहाँले भारतका सबै गुरु दरबारमा दर्शनका लागि उपलब्ध हुन नसकेका ती दुर्लभ ग्रन्थ हाम्रा लागि गौरवका विषय भएकाले गुरुनानक र शिख धर्मका ऐतिहासिक धार्मिक ग्रन्थको संरक्षण गर्नु हामी सबैको दायित्व र कर्तव्य भएको बताउनुभयो ।

 

 

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले अल्पसङ्ख्यक समुदायको उत्थान र विकासका लागि पनि मार्ग प्रशस्त गरेको जनाउँदै उहाँले संवैधानिकरूपमै आयोगको गठन गर्ने व्यवस्था गरेर सम्मान व्यक्त गरेको बताउनुभयो । मुख्यमन्त्री पोखरेलले संविधानको व्यावहारिक कार्यान्वयन हुँदै जाँदा सबै समुदाय, वर्ग र जातिले अधिकारको उपभोग गर्दै जाने विश्वास व्यक्त गर्नुभयो । उहाँले गुरुनानक जयन्तीलाई पनि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै मनाउन आग्रह गर्नुभयो ।

 

 

सम्बन्धित खबरहरु