विलमिङटन, १५ मंसिर (रासस–एपी) अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको कुकुरसँग खेल्नेक्रममा खुट्टा मर्किएको अमेरिकी संचार माध्यमहरुले जनाएका छन् । बाइडेनका चिकित्सकका अनुसार बाइडेनको दायाँ खुट्टा मर्किएको र उहाँलाई केही हप्तासम्म सहयोगी आवश्यक पर्न सक्नेछ ।

बाइडेनलाई डेलावेयरस्थित नेवार्क अस्पतालमा शनिबार उपचारका लागि भर्ना गरिएको थियो । बाइडेनका चिकित्सक केभिन ओ–कोन्नोरले एक विज्ञप्ति प्रकाशन गरी प्रारम्भिक एक्स–रे गर्दा हड्डी भाँचिएको नदेखिएको बताउनु भएको छ । तर उहाँको खुट्टाको सिटी स्क्यान गर्न लागिएको पनि डा केभिनले बताउनुभयो ।

बाइडेनको उमेर हाल ७८ वर्ष रहेकाले पनि स–सानो दुःखाई पनि जटिल हुन सक्दछ । राष्ट्रपति–निर्वाचित बाइडेनले आगामी वर्ष जनवरी २० मा राष्ट्रपतिको शपथ लिँदै हुनुहुन्छ । उहाँ अमेरिकी इतिहासमै सबैभन्दा बढी उमेरमा राष्ट्रपति बन्नु हुनेछ ।

बाइडेन अस्पतालमा जाँदा खुट्टा खोच्याउँदै हिँड्नु भएको देखिएको थियो तर वैशाखी वा अन्य कुनै सहायता लिनु भएको थिएन । राष्ट्रपति–निर्वाचित बाइडेन परिवारमा २ वटा कुकुर छन् र उहाँहरुले दुबैलाई ह्वाइट हाउस लैजाने यसअघि नै बताइसक्नु भएको छ ।

सम्बन्धित खबरहरु