सिड्नी । अहिले नेपाल लगायत विश्वभरीका धेरै वटा देशमा अत्याधिक चिसो बढ्दै गएको छ । तर अष्ट्रेलियामा अत्याधिक गर्मी बढिरहेको छ । अष्ट्रेलियाको सबैभन्दा ठूलो शहर सिड्नीमा शनिबार नोभेम्बर महिना कै उच्च तापक्रम मापन गरिएको छ ।

सिड्नीमा अघिल्लो हप्ताको अन्त्यमा महिनाभरिको सबैभन्दा उच्च ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम मापन गरिएको अष्ट्रेलियाको मौसम विभाग कार्यालयले जनाएको छ । यो अत्यन्तै गर्मी हो । सिड्नीमा शनिबारदेखि आइतबारसम्ममा तापक्रम राति वा बिहानको समयमा समेत २५ डिग्री सेल्सियसभन्दा कम नभएको पनि मौसमविद्हरूले बताएका छन् ।

सिड्नीमा आइतबार बिहान ४ः३० बजेको तापक्रम पनि ३० डिग्रीभन्दा बढी रहेकोे थियो । सिड्नीमा आइतबार दोस्रो दिन पनि तापक्रम ४० डिग्रीभन्दा बढी नै रहेको छ ।

‘त्यसैगरि दक्षिणपूर्वी अष्ट्रेलियाको न्यू साउथ वेल्समा पनि शनिबार र आइतबार अत्यधिक गर्मी महशुस गरिएको छ भने यहाँ गर्मी अझ बढ्ने सङ्केत देखिएको छ,’ अष्ट्रेलियाका विभिन्न भागमा आगामी दिनमा अझ बढी गर्मी हुने पूर्वानुमान गरिएको मौसम विभागका एक अधिकारी अगाटा इमिएल्स्काले बताए ।

अष्ट्रेलियाको दक्षिणी क्षेत्र ग्रिफिथ्स र माइल्दुरामा नोभेम्बरका दिनहरूमा तापक्रम अत्यधिक रहेपनि शनिबार सबैभन्दा धेरै क्रमशः ४३.२ र ४५.७ डिग्री सेल्सियससम्म पुगेको थियो ।

गर्मी उच्च हुन थालेपछि वस्ती नजिकका जङ्गल वरपर आगो नबाल्न अधिकारीहरूले सर्वसाधारणलाई सचेत बनाएका छन् । अष्ट्रेलियामा सन् २०१९को अन्त्य र सन् २०२० को सुरुमा जङ्गलमा लागेको डढेलो नियन्त्रणमा ल्याउन नसक्दा ३३ मानिससहित तीन अर्ब प्राणीले अकालमा मृत्यु वा विस्थापित भएको घटना ताजै रहेपनि यो वर्ष पनि अत्यधिक गर्मीसँगै डढेलोका घटना बढ्नसक्ने भन्दै अधिकारीहरूले सर्वसाधारणलाई सचेत बनाएका हुन् ।

डढेलोका कारण अष्ट्रेलियाले यो शताब्दीकै बढी क्षति ब्यहोरेको एक वर्षपछि पनि करिब ६० स्थानमा डढेलो लागेको समाचारहरू सार्वजनिक भएका छन् । गत वर्षको डढेलोका कारण अष्ट्रेलियाले सात अर्ब अमेरिकी डलर बराबरको आर्थिक भार बहन गर्नुपरेको थियो ।

नेपाल लगायतका देशहरुमा चिसो हुँदा अष्ट्रेलिया गर्मी हुँनुको कारण भूमध्यरेखा हो । भूमध्यरेखाबाट विपरित तर्फ रहेका देशमा अहिले गर्मी मौसम रहेको छ । भूमध्यरेखा नजिक रहेका देशहरुमा चिसो बढिरहेको छ ।

यसमा स्पष्ट हुन योपनि जान्न जरुरी छ की भूमध्यरेखाको ५ डिग्रीसम्मको झुकावमा रहेका देशहरुमा कहिलैं मौसम परिवर्तन हुँदैन । सदावहार सबै मौसम समिश्रण हुन्छ । जस्तै मलेसियासम्म न जाडो न गर्मीको मौसम सँधै रहन्छ । एएफपी

सम्बन्धित खबरहरु