काठमाडौ । पेट्रोल चोरीमा पल्किएकालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपछि प्रहरीसँग दिएको बयाँनले थप रहस्य खुलेको छ । पेट्रोल टैंकरमा फल्स चेम्बर बनाई इन्धन चोरी तस्करी गरी ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३ महाराजगंजबाट २ जनालाई गत बिहिबार प्रहरीले पक्राउ गरेको थियो । पक्राउपछिको बयानमा उनीहरुले धेरै पहिलेदेखि यो कार्य गरिरहेको स्वीकार गरेका छन् ।

पक्राउ पर्नेहरुमा बारा जितपुर सिमरा उपमहानगरपालिका-२१ बस्ने ३५ वर्षीय अजय लामा र सोही ठाउँ बस्ने २८ वर्षीय बिकेश लामा रहेका छन् ।
मङ्सिर ३ गते ईण्डियन आयल कर्पोरेसन बरौनी, भारतबाट पेट्रोल लोड गरी आएका ना.७ ख २९९५ र ना.७ ख ३६९६ नम्बरको टैंकरमा फल्स चेम्बर बनाई ईन्धन चोरी तस्करी गरी ठगी गरेको जानकारी प्राप्त भए पश्चात् उक्त टैंकरका चालकहरू अजय र बिकेशलाई पक्राउ गरेको हो ।

पेट्रोल टैंकरमा फल्स चेम्बर बनाई इन्धन लुकाई भारत लगि बेच्ने र आयल निगमलाई हानी नोक्सानी पुर्‍याई ठगी गर्ने कार्यको अनुसन्धान प्रकृया अगाडि बढाइएको उक्त ब्यूरोले जनाएको छ ।

यता भन्सार छलि चोरी निकासी गरी सुन ल्याएको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कोटेश्वरस्थित स्काई ज्वलेर्स संचालक काठमाडौं महानगरपालिका-३२ बस्ने तेह्रथुम छथर गाउँपालिका-४ घर भएका ३२ वर्षीय कुमार सेन्चुरी र काठमाडौं महानगरपालिका-१५ बस्ने रामेछाप दोरम्बा गाउँपालिका-४ घर भएका ३२ वर्षी गंगा बहादुर मगर रहेका छन् ।

बिशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले गत शुक्रबार दिउँसो काठमाडौं महानगरपालिका-९ सिनांमगलस्थित गोल्डेन गेट अगाडिबाट गंगा बहादुरलाई शंकास्पद अवस्थामा फेला पारी जाँच गर्दा उनको साथबाट नगद ११ लाख ८६ हजार ५ सय फेला पारेको र थप अनुसन्धानको क्रममा उनले राजश्व छलि गरी ल्याएको सुनका बालाहरु कोटेश्वरस्थित स्काई ज्वलेर्स संचालक कुमारलाई बिक्री गर्ने गरेको भन्ने खुल्न आएपछि आइतबार उक्त ज्बलेर्सबाट करिब १४९.९५ ग्राम बराबरको ३ थान सुनको बाला सहित कुमारलाई समेत पक्राउ गरेको हो ।

उनीहरुलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको महानगरीय अपराध महाशाखा काठमाडौंले जनाएको छ ।

सम्बन्धित खबरहरु