रौतहट । माधवनारायण नगरपालिका-७ लौकाहा टोल बस्ने राम अयोध्या साह तेलीकी १७ वर्षीया छोरी अमृता कुमारी साहको ज्यान सम्बन्धि उद्योगमा संलग्न रहेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा देवाही गोनाही नगरपालिका-२ लक्ष्मिनीया कुरुनीया बस्ने बस्ने ६० वर्षीय शेख अलियास, ४० वर्षीय बहुदल भन्ने ईस्लाम असांरी, ३६ वर्षीय शेख ईम्प्ताज, मृतकका बाबु माधवनारायण नगरपालिका-७ लौकाहा टोल बस्ने ५५ वर्षीय रामअयोध्या साह, मतृककी आमा सिता देवी साह, परोहा नगरपालिका-४ बस्ने ४६ वर्षीय छोटेलाल साह र देवाही गोनाही नगरपालिका-२ लक्ष्मिनिया कुरुनीया बस्ने कैमलु देवान रहेका छन् ।

आफ्नै माईतीघरमा आमासँग सुतिरहेको अवस्थामा आमा चर्पी गएको बेलामा ४–५ जनाको समूहमा आएका अपरिचित व्यक्तिहरूले अमृता कुमारीको ज्यान सम्बन्धि उद्योग गरेका थिए । “पेस्तोल”को प्रयोगबाट अमृताको घटना स्थलमा नै मृत्यु भएको थियो ।

घटनाको अनुसन्धानको क्रममा सोही ठाउँ बस्ने ३० वर्षीय युवकसँग मृतकको ३ वर्षदेखि प्रेम सम्बन्ध रहेको भएपनि परिवारको दबावमा २०७६ फागुनमा सर्लाही विष्णु गाउँपालिका-३ मा विवाह भएकोमा उनका पतिलाई छुरा प्रयोग गरी ज्यान सम्बन्धि उद्योगको प्रयास भएपछि अमृता माईती आई बसेको र २०७७ साल असारमा उनीहरुबीच सम्बन्ध विच्छेद भएको थियो ।

त्यसपछि अमृता र उनको प्रेमी उपर ज्यान सम्बन्धि उद्योगमा मुद्दा दर्ता भएकोमा अमृताका बाबु आमालाई उनको प्रेम सम्बन्ध पनि स्वीकार नरहेको र छोरी पक्राउ परे इज्जत समेत जाने र समाजबाट अपहेलित हुनपर्ने डर भएकोले मृतककै बाबु रामअयोध्या साह समेतले भारतमा उपचारको लागि लगेर ज्यान सम्बन्धि उद्योग गर्ने योजना असफल भएपछी पुनः अभियुक्त कैमलु देवानलाई १ लाख रुपैयाँ दिई यो घटना घटाएको खुल्न आएको छ ।

उनीहरू उपर रौतहट जिल्ला अदालतबाट ज्यान सम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान भईरहेको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

सम्बन्धित खबरहरु