एजेन्सी । बलिउड अभिनेता सलमान खानलाई कालो हरिण शिकार प्रकरणमा मंगलबार अदालतमा उपस्थित हुन आह्वान गरिएको थियो । तर सलमान अदालतमा उपस्थित भएनन् ।

यस मामलाको सुनुवाईको क्रममा जोधपुरको एक अदालतले सलमान खानलाई अदालतमा पेश हुन छुट दिएको छ । सलमान खानले कालो हरिण शिकार मामलामा ५ वर्षको सजायलाई चुनौति दिने अपिल गरेका थिए । जसमा मंगलबार सुनुवाई गरिने बताइएको थियो ।

अतिरिक्त जिल्ला एवं सत्र न्यायधीश ब्रजेश पम्वारले सलमानका वकीलद्वारा मुम्बई र जोधपुरमा कोरोनाको संक्रमण बढिरहेको कारण देखाउँदै अदालतमा उपस्थित हुन नसक्ने कुरालाई राहत प्रदान गरेका छन् ।

अदालतले आगामी सुनुवाईको मिति १६ जनवरीलाई तय गरेको छ । कोरोना महामारीका कारण मार्चदेखि जारी गरिएको लकडाउनभन्दा पहिले उनलाई अदालतमा उपस्थित हुन आग्रह गरिएको थियो । तर कोरोना महामारीको कारण देखाउँदै सलमानले ८ महिनामा ६ पटक अदालतमा उपस्थित हुन छुट पाएका छन् । उनले हालसम्म यो प्रकरणमा १५ औं पटक हाजीरी माफि लिइसकेका छन् ।

के हो कालो हरिण केस ?

सन् १९९८ मा सलमान फिल्म हम साथ साथ हे को सुटिंगका लागि जोधपुर पुगेका थिए । उनीमाथि शहरभन्दा पर कांकाणी गाउँको जंगलमा दुई कालो हरिणको शिकार गरेको आरोप लागेको थियो । लामो बहसपछि उनलाई ५ वर्षको जेल सजाय सुनाइएको थियो । जबकि दोस्रो आरोपिहरु सैफ अली खान, अभिनेत्री निलम, तब्बु र सोनाली बेन्द्रेलाई सन्देहको लाभ दिँदै निर्दोष ठहराइएको थियो ।

सजाय सुनाएपछि सलमान जेल पनि पुगेका थिए । तर उनी धरौटीमा छिटै छुटे । तर अहिले उनले ट्रायल कोर्टको यो फैसलालाई चुनौति दिइरहेका छन् । यसका साथै सन् १९९८ मा सलमानमाथि लाइसेन्सको अवधि सकिएपछि पनि हतियार राखेको अभियोग लागेको थियो ।

पछि सलमानले यो केसलाई जिते तर राज्य सरकारले ट्रायल कोर्टको यो फैसलालाई चुनौति दिएको छ । उनले दिएको चुनौति विफल भएमा सलमानले ५ बर्ष जेल जानैपर्ने हुनेछ ।

सम्बन्धित खबरहरु