१७ मङ्सिर (रासस÷एएनआई) ः बेलायतमा अर्काे हप्तादेखि कोभिड १९ भाइरस विरुद्धको खोप वितरण हुने भएको छ । पिफाइजर–बायो एनटेक औषधि इमरजेन्सी प्रयोगका लागि बेलायतको औषधि व्यवस्था सम्बन्धी निकायले अनुमति दिएको हो ।

यसरी बेलायत कोभिडका विरुद्धको खोप प्रयोगमा ल्याउनका लागि अनुमति दिने विश्वकै सबैभन्दा पहिलो देश भएको छ । यो प्रावधानले आगामी हप्ताका लागि खोपको प्रयोग गर्न पाउने बाटो खुलेको छ । सरकारले आगामी हप्ता यो खोपको सेवा दिने भएको बेलायतले जनाएको छ ।

बेलायतको औषधि व्यवस्था विभागले यो खोपको प्रयोग गर्न सक्ने गरी व्यवस्था गरेकोले बेलायत कोरोना विरुद्धको खोपमा अनुमति पाएको पहिलो देश बनेको हो ।यो खोप विश्वका विभिन्न देशहरुमा नै लगेर तेस्रो चरणसम्मको परीक्षण गरिएको थियो । सो परीक्षण पास भएपछि यो खोपलाई सार्वजनिक रुपमा प्रयोगका लागि अनुमति दिइएको बताइएको छ ।

समाचारमा जनाइएअनुसार बेलायतले अनुमति दिएसँगै अब यो खोप आगामी हप्ताबाट नै बेलायतमा प्रयोग गरिने भएको हो ।आगामी केही दिनमा यो खोप बेलायतमा आउने र सन् २०२१ मा उक्त कम्पनीले बेलायतका लागि आवश्यकताका अनुसारको मात्रा नै उत्पादन गर्ने जनाएको छ ।

उता बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले पनि अर्काे हप्ताबाट यो खोपको प्रयोग गर्न पाइने बताउनुभएको छ ।उहाँले आज आफ्नो ट्वीटरमार्फत् सो कुराको जानकारी दिनुभएको हो । उहाँले यसबाट बेलायतलाई खुशी लागेको पनि बताउनुभएको छ ।

उहाँले बेलायतले यो खोपको निर्माण गर्दा निकै खुशी भएको बताउनुभएको छ । साथै उहाँले यो महत्वपूर्ण कार्यले गर्दा अब बेलायतका मात्र नभएर संसारका मानिसको ज्यान बच्ने बताउनुभयो । यसबाट बेलायतलाई नागरिकको ज्यान बाँच्ने मात्र नभएर बेलायतको आर्थिक सुधारका लागि पनि सहयोग पुग्ने बताउनुभएको हो ।

सम्बन्धित खबरहरु