काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा अपाङ्गगता भएका दिदीबहिनी तथा दाजुभाइहरूले पुर्याउनुभएको साहसिक र महत्वपूर्ण योगदानको कांग्रेसले सधैँ उच्च सम्मान गरेको उल्लेख गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका अवसर शुभकामना दिँदै उहाँले मुलुकको जनसङ्ख्यामा उल्लेख्य सङ्ख्यामा रहेका अपाङ्गता भएका व्यक्तिहरूलाई राज्यको निर्णायक संरचनामा सहभागिता र प्रतिनिधित्वको व्यवस्था हुनुपर्दछ भन्ने कांग्रेसको धारणा रहँदै आएको बताउनुभएको छ ।

कांग्रेसको नेतृत्वमा निर्माण भएको नेपालको संविधानमा अपाङ्गता भएका व्यक्तिहरुलाई राजनीतिक, सामाजिक र सांस्कृतिक अधिकार सुनिश्चित गरिएको बताउँदै सभापति देउवाले उहाँहरूको शिक्षा, स्वास्थ्य, रोजगारीको समुचित प्रबन्ध, सामाजिक सुरक्षा र सम्मानपूर्वक जीवनयापनका लागि कांग्रेस सदैव क्रियाशील रहिरहने उल्लेख गर्नुभएको छ ।

सभापति देउवाले अपाङ्गता भएका व्यक्तिहरूमा अन्तरनिहित क्षमता, दक्षता, सीप, योग्यता मुलुकको आर्थिक, सामाजिक रूपान्तरणमा सदुपयोग गर्न सकियोस् भन्दै अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा शुभ–कामना व्यक्त गर्नुभएको छ ।

संयुक्त राष्ट्र सङ्घले सन् १९८१ देखि अपाङ्गता भएका व्यक्तिहरुको हक, हित र अधिकार प्राप्तिका लागि अन्तर्राष्ट्रियरूपमै अपाङ्ग दिवस मनाउँदै आइरहेको सन्दर्भमा ३ डिसेम्बर १९९२ देखि नेपालले पनि उक्त दिवस मनाउँदै आएको छ ।

सम्बन्धित खबरहरु