काठमाडौ । २३ वर्षीया नम्रता श्रेष्ठले यस वर्षको मिस नेपाल उपाधि जितेकी छन् । शनिबार राजधानीमा सम्पन्न ग्रान्डफिनालेमा २० प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस नेपाल वर्ल्डको उपाधि जितेकी हुन् ।

किन्डरगार्डेन शिक्षिकासमेत रहेकी नम्रताले अब मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्न पाउनेछिन् । नम्रताले समाजशास्त्रमा स्नातकोत्तर उपाधि हासिल गरेकी छिन् । उनी काठमाडौको स्थायी बासिन्दा हुन् । व्यक्तिको जीवनमा सकारात्मक प्रभाव पार्ने सन्र्दभमा उनी निक्कै भावुक छिन्। उनी मिस मिस नेपाल बनेपछिपनि शिक्षक शिक्षिकाको रुपान्तरणमा विषय काम गर्न चाहान्छिन् ।

प्रतियोगितामा अन्तिम राउन्डमा कल्पना गर्नुस् तपाईं एउटा सानो ढुंगा हो, जो पोखरीमा पर्दा सुन्दर तरंग फैलिन्छ, तपाईं नेपाली महिलाको जीवनमा परिवर्तनकारी तरंग फैलाउन चाहनुहुन्छ भनेर प्रश्न सोधिएको थियो । छोरीलाई शिक्षा दिने र दाइजो प्रथा हटाउन आफू लाग्ने नम्रताले जवाफ दिएकी थिइन् ।

यस्तै मिस नेपाल सुप्रानेसनल उपाधि सिमल कनौजिया, मिस नेपाल इन्टरनेसनल उपाधि सन्ध्या शर्मा, मिस नेपाल अर्थको उपाधि सुप्रिया श्रेष्ठले जितेका छन् । त्यस्तै सह–उपाधितर्फ मिस कन्फिडेन्टको मिस नेपाल नम्रता, मिस ब्युटी विथ पर्पज सन्ध्या शर्मा, मिस हेल्दि नेहा सरकार, मिस फोोजेनिक आस्थिका श्रेष्ठ, मिस पपुलर चोइस सन्ध्या शर्मा र मिस ग्ल्यामर योजना भट्टराई घोषित भइन् ।

कोरोना महामारीका कारण यस वर्ष मिस नेपाल फरक तरिकाले आयोजना गरिएको आयोजक हिडन ट्रेजर अध्यक्ष दिवाकर राजकर्णिकारले जनाए । हामी हरेक वर्ष मिस आयोजना गर्दै आएका छौं । यो वर्ष कोभिडको कठिन परिस्थितिमा पनि मिस नेपाल गर्न सफल भएका छौं । यस वर्ष कोभिडले गर्दा हामीले केही फरक तरिकाले गरेका छौं । ३ हप्ताको भर्चुअल ट्रेनिङ गर्‍यौु उनले भने ।

कार्यक्रममा सज्जा चौलागाईंले गायन प्रस्तुति दिइन् । निर्णायकतर्फ शिक्षित भट्ट, टुलिका अग्रवाल, करण वैध, मिस नेपाल २०१७ निकिता चाण्डक, डा. पुकार मल्ल, डा. राज राणा, प्रिती सिटौला, सुमन शाक्य, अभिनेत्री स्वस्तिमा खड्का, हेलिकप्टर क्याप्टेन प्रिया अधिकारीलगायत थिए ।

नम्रताले यसअघि मिस नेपाल २०१६ मा पनि सहभागिता जनाएकी थिइन् । त्यो बेला उनी शीर्ष पाँचसम्म पुग्न सफल भएकी थिइन् । समाजमा सकारात्मक छाप छोड्ने नम्रताको उद्देश्य हो । एकदम रमाइलो लागिरहेको छ । एकदम खुशी छु, फोटो खिचाउन व्यस्त मिस नेपाल नम्रताले सुनाइन् ।

नम्रतालाई क्राउन लगाइदिएपछि मिस नेपाल अनुष्काले भनिन्, नम्रतालाई क्राउन लगाइदिँदा आफैंलाई दिदी अनुभव गरे । नम्रता उपाधिको योग्य प्रतिस्पर्धी हुन्, उसले जित्दा खुसी छु । उसले केही समय आफैंलाई दिउन् । सबैसँग मिलेर काम गरून् अनि त्यसरी नै आफ्नो जिम्मेवारी पनि निभाउन् । मेरो शुभकामना ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु