काठमाडौं । धुञ्चेस्थित टुल्कु छेलिङ गुम्बाको छेउमा निर्माण भएको शङ्ख पार्क अवलोकनका लागि खुला गरिएको छ । स्थानीय तहको कार्ययोजनानुरूप रू १७ लाख ३३ हजारका लागतमा निर्माण भएको उद्यान दिनभर खुला रहने जनाइएको छ ।

स्थानीय बासिन्दा, ज्येष्ठ नागरिक तथा पर्यटकसमेतले उद्यानमा विश्राम लिई उच्च भागको दृश्य अवलोकन गर्न सक्नेछन् । मानव बस्ती छनोट गर्ने क्रममा भगवान्ले फ्याँक्नु भएको शङ्ख धुञ्चे क्षेत्रमा अडिएको किंवदन्ती छ ।

समुद्री सतहदेखि एक हजार ९५० मिटरको उचाइमा तयार भएको शङ्ख पार्क गोसाइँकुण्ड गाउँपालिका, स्थानीयस्तरको सामाजिक क्षेत्रमा कार्यरत मानेको सोसाइटीसमेतको लगानीमा निर्माण भएको गाउँपालिका अध्यक्ष कैसाङ्नुर्पु तामाङले जानकारी दिनुभयो ।

स्थानीय तामाङ भाषामा धुङ भनेको शङ्ख र लाङ भनेको गाडिएको ठाउँ भएकाले गाउँको नाउँ नै धुङ्लाङ रहन गएको जनाइएको छ । टुल्कुछेलिङ गुम्बाका लामा धर्मगुरू लामा रेञ्जन घलेले यस क्षेत्रमा रसुवाको सदरमुकाम स्थापना भएपछि सरकारी निकायबाट विसं २०२४ अगावै धुञ्चे नामकरण गरिएको जानकारी दिनुभयो ।

पासाङल्हामु राजमार्गसँग जोडिएको नवनिर्मित शङ्ख उद्यान मोटरका यात्रुले समेत सहजरूपमा अवलोकन गर्न सक्ने बताइन्छ । यसैबीच धुञ्चेमा फुटबल मैदानको निर्माण अन्तिम चरणमा पुगेको छ ।

जिल्ला अस्पताल नजीक बनाइएको उक्त मैदानको टेवा पर्खाल लगाउने र मैदान सम्याउने काम सम्पन्न भई तारबार लगाउने कार्य द्रुतगतिमा अगाडि बढिरहेको गाउँपालिकाले जनाएको छ ।

सम्बन्धित खबरहरु