काठमाडौं । पूर्वी नेपालमा पहिलोपटक पाटेबाघ भेटिएको छ । इलामको ३१६५ मिटर उचाइमा पाटेबाघ भेटिएको हो । बारास्थित पर्सा निकुञ्जभन्दा पूर्वमा बाघ रेकर्ड गरिएको थिएन ।

कञ्चनजंघा भू–परिधिमा जीपीएस कलर गरिएका १० वटा हाब्रे (रेडपाण्डा) अनुगमन गर्न राखिएको २० वटा क्यामेरा ट्रयापमध्ये एउटा क्यामेरामा पाटेबाघ कैद भएको वन तथा भू–संरक्षण विभागले जानकारी दिएको छ ।

यो सँगै पूर्वी पहाडी क्षेत्रको कञ्चनजंघा भू–परिधिमा बिरालो प्रजातिको संख्या ८ भएको छ । चितुवा, ध्वाँसे चितुवा, हिउँ चितुवा, सुनौलो बिरालो, चरी बाघ, वन बिरालो र छिरबिरे बिरालो विगतमा रेकर्ड गरिसकिएको छ ।

उक्त जैविक मार्ग कञ्जनजंघा संरक्षण क्षेत्र र भारतको सिंघलिला निकुञ्जसँग जोडिएको छ । विभाग र रेडपाण्डा नेटवर्कले हाब्रेको घाँटीमा जीपीएस कलर जडान गरी संयुक्त रुपमा रेडपाण्डाको अनुगमन गर्दै आएको छ ।

यो भन्दा पहिले गत चैतमा डडेलधुरामा २५०० मिटर उचाइमा बाघ भेटिएको थियो । भारतमा ३६३० र भुटानमा ४४०० मिटर उचाइसम्म बाघ फेला पर्ने गरेका छन् ।

विभागका महानिर्देशक मनबहादुर खड्काले उच्च भागमा बाघ पाइनुले उच्च पहाडी क्षेत्रका वनमा ठूला जंगली बिरालो प्रजातिको बासस्थान भएको पुष्टि भएको उल्लेख गर्नुभयो ।

रेडपाण्डा नेटवर्कका राष्ट्रिय निर्देशक आङफूरी शेर्पाले इलाममा बाघ रेकर्ड हुनुले उक्त क्षेत्रको जैविक मार्गको महत्व र त्यसको संरक्षणको प्राथमिकता उजागर गरेको स्पष्ट पार्नुभएको छ । दुई वर्षअघिको अध्ययनअनुसार नेपालमा पाटे बाघको संख्या २३५ छ ।

यो हप्ताका चर्चित शीर्षकहरु

https://www.janaboli.com/post/312517

 

सम्बन्धित खबरहरु