काठमाडौं । नौ वर्षअघि इलाम नगरपालिकाले रु छ करोड खर्चेर शीतभण्डार बनायो । भारतीय दूतावासको आर्थिक सहयोगमा ठूलै तामझामका साथ जिल्लामा उत्पादित फलफूल, तरकारी भण्डारी गर्ने उद्देश्यले नगरले भवन बनाएको हो ।

भण्डारण बेगर लामो समय फलफूल र तरकारी नटिक्ने तथा जिल्ला बाहिरबाट भित्र्याउनु पर्ने समस्या हल गर्न शीतभण्डारण बनाइएको थियो । शीतभण्डार बन्यो तर अहिलेसम्म प्रयोगमा आएको छैन ।

भण्डारण गरेर नगरले फाइदा लिनुको साटो मासिक बिजुलीको महसुल तिर्नुपर्ने बाध्यता छ । इलाम नगरपालिका–९ मा रहेको शीतभण्डारको क्षमता दुई हजार टनको छ । शीतभण्डार प्रयोगमा नआउँदा भवन लड्ने अवस्थामा पुगेको छ ।

भवन प्रयोगमा ल्याउन नगरले केही प्रयास पनि गरेकै हो । ठेक्काका लागि सूचना निकालियो तर ठेक्का लागेन । त्यही कारण अहिले भवन प्रयोगविहीन छ । नगरका बासिन्दाले बाहिरबाट तरकारी आयात गर्छन् ।

“हामीले ठेक्कामा लगाउन धेरै पटक सूचना निकाल्यौँ तर कोही आएन”, नगरका सूचना अधिकारी एवं प्रशासकीय अधिकृत रामकुमार साहले भन्नुभयो, “किसानले राख्ने आँट गरेनन्, बिग्रिन्छ कि भनेर डराए ।”

शीतभण्डार बनाए पनि प्रयोग नहुँदा लागत रकम नाश भएको छ भने भवन बिग्रिने अवस्थामा पुगेको छ । नगरले दूरदर्शिता अपनाउन नसक्दा शीतभण्डार प्रयोगमा आउन नसकेको हो ।

एकपल्टमा एकैखाले उत्पादन मात्र भण्डारण गर्न मिल्ने ‘सिङ्गल च्याम्बर’को भएकाले पनि शीतभण्डार सञ्चालनमा ल्याउन कठिनाइ भएको हो । फरकफरक जातका कृषिजन्य उत्पादन भण्डारण गर्न फरकफरक नै तापक्रम आवश्यक पर्दछ ।

फरकफरक तापक्रममा फरक खाले तरकारी र फलफूललगायतका कृषिजन्य उत्पादन राख्न सक्ने गरी ‘मल्टि च्याम्बर’ बनाउनु पर्ने भए पनि हचुवाका भरमा शीतभण्डारको निर्माण गरिएकाले समस्या भएको कतिपयको आरोप छ ।

सम्बन्धित खबरहरु