काठमाडौं । प्रधानमन्त्री एवं सतरुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटी बैठक शुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अध्यक्ष केपी शर्मा ओली पक्षको बैठक शुरु भएको हो ।

बैठकले आज महत्वपूर्ण निर्णय गर्ने जानकारी गराइएको छ । मंगलबार विहान ९ बजेका लागि बोलाइएको बैठक केही ढिलागरी पौने ११ बजे शुरु भएको एक केन्दीय सदस्यले जानकारी दिनुभयो । बैठकको गृहकार्यमा केही समय लागेपछि बैठक केही ढिलो भएको बताइएको छ ।

हिजो सोमबार अध्यक्ष ओलीले आफ्नो पक्षका नेता तथा विघटित प्रतिनिधिसभाका सांसदहरुसँग विहान १० बजेपछि बालुवाटारमा छलफल गर्नुभएको थियो । आजको बैठकमा पूर्व माओवादी नेताहरु टोपबहादुर रायमाझी र मणी थापा अध्यक्ष ओली पक्षको केन्द्रीय कमिटी बैठकका लागि बालुवाटार पुग्नुभएको छ ।

दुई पक्षको फरक फरक बैठक भएपछि नेताहरु तान्नेक्रम दुवै पक्षबाट जारी छ । आजको बैठकले कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपाललगायतलाई कारबाहीको निर्णय गर्ने नेताहरुले बताएका छन् ।

सम्बन्धित खबरहरु