काठमाडौं । लहान नगरपालिकाले पालिकाभित्रका सडक कालोपत्र र ढलान गर्न थालेपछि स्थानीयवासी हर्षित भएका छन् । वर्षाँैदेखि सडक जीर्ण हँुदा हिलो र धुलोका कारण समस्या भोग्दै आएका स्थानीयवासी सडक पक्की भएसँगै हर्षित भएका हुन् ।

नगरपालिका वडा नं १३ र १४ लाई जोड्ने सडकलाई केही दिनअघि नगरपालिकाले कालोपत्रे गरिदिएपछि स्थानीयवासीलाई लहान बजारसम्म पुग्न सहज मात्रै होइन, अब हिलो र धुलोबाट मुक्त भएको अनुभूतिसमेत भइरहेको छ । “गाउँबाट लहान बजार पुग्न पहिला साइकलमा एक घण्टा जति समय लाग्थ्यो”, लहान–१३ बस्तीपुरका रामअयोधी यादवले भन्नुभयो, “सडक कालोपत्र भएपछि लहान बजारसम्म पुग्न अहिले मुस्किलले १५ मिनेट लाग्छ ।” अब धुलो र हिलोबाट समेत मुक्ति पाएको आभाष भइरहेको उहाँको कथन छ । लहान–१३ बाट लहान बजारसम्मको करिब आठ किलोमिटरको कच्ची सडकलाई चालु आर्थिक वर्षमै कालोपत्र गरिएको नगरपालिकाको योजना शाखाले जनाएको छ ।

नगरपालिकाले ग्रामीण भेग र शहरको दूरीलाई कम गर्दै आवतजावतमा सहजता ल्याउने उद्देश्यले सडक कालोपत्र गरेपछि गाउँमा किसानले उत्पादन गरेको सामान बजारसम्म पुर्याउन सहज भएको स्थानीय कपिलदेव यादवले बताउनुभयो । “पहिला–पहिला सडक जीर्ण हुँदा सवारी साधन त्यति चल्दैनथ्यो, जसका कारण गाउँमा उत्पादन भएको काउली, भाण्टा, मुलालगायतका तरकारी बाली सहजरूपमा बजारसम्म पुर्याउन समस्या हुन्थ्यो”, स्थानीय गोदावरी कृषक समूहका अध्यक्षसमेत रहनुभएका यादवले भन्नुभयो, “तर अहिले सो सडकमा थुप्रै सङ्ख्यामा अटोरिक्साहरू चल्न थालेको छ, जसले गर्दा सहजरूपमै ती बाली बजार पुर्याउन सकिरहेका छौँ ।” यसबाट किसानसमेत उत्साहित भएको उहाँको भनाइ छ ।

नेपालकै सबैभन्दा बढी वडा भएको सो नगरपालिकाले २४वटै वडाका सडकलाई धुलो र हिलोमुक्त बनाउने लक्ष्य लिएको नगरप्रमुख मुनी साहले बताउनुभयो । उहाँले कालोपत्र सडक निर्माणलाई शहरी र ग्रामीण क्षेत्रमा सन्तुलितरूपमा अघि बढाएको भन्दै यसमा सबैको साथ पाइरहेको उल्लेख गर्नुभयो । नगरप्रमुख साहका अनुसार नगरपालिका क्षेत्रभित्रका करिब १४ किलोमिटर सडक कालोपत्र भइसकेको छ र बाँकी सडकमा समेत कार्य जारी छ । रासस

सम्बन्धित खबरहरु