काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र अहिले दुई पक्षको राजनीतिक गतिविधि अधिक बढेको छ । नेकपाभित्र ओली पक्ष र प्रचण्ड–नेपाल पक्ष आफ्नो गुटमा नेताहरु तान्न लागिरहेका छन् । यो बीचमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षले नयाँ मनोनीत केन्द्रीय सदस्यहरूलाई प्रशिक्षण दिन प्रशिक्षक तोकेको छ ।

प्रशिक्षकमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल, मुख्यमन्त्रीहरू शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलगायत रहनु भएको छ ।

ओली पक्षका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सातवटै प्रदेशका मनोनीत केन्द्रीय सदस्यहरूलाई प्रशिक्षण दिन प्रशिक्षक तोकिएको जानकारी दिनुभयो । ओली पक्षले केन्द्रीय सदस्यका रूपमा ठूलो संख्यामा नेताहरूलाई जिम्मेवारी दिएको छ ।

प्रवत्ता ज्ञवालीका अनुसार सुदूरपश्चिम प्रदेशका लागि लेखराज भट्ट, प्रदीप ज्ञवाली, कर्णबहादुर थापा र डा. विन्दा पाण्डे रहनु भएको छ । कर्णाली प्रदेशका लागि शंकर पोखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्यलाई तोकिएको छ ।

लुम्बिनी प्रदेशमा विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, मणिचन्द्र थापा र गोमा देवकोटा रहनु भएको छ । गण्डकी प्रदेशका लागि टोपबहादुर रायमाझी, पृथ्वी सुब्बा गुरूङ, किरण गुरूङ र सीता पौडेललाई जिम्मेवारी दिएको छ भने वागमती प्रदेशमा ईश्वर पोखरेल, टोपबहादुर रायमाझी र पद्मा अर्याल रहनु भएको छ ।

ओली पक्षले प्रदेश नं २. मा ईश्वर पोखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महतोलाई प्रशिक्षक तोकेको छ । अर्कोतिर प्रदेश नं. १– का लागि सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणिचन्द्र थापा र डा. शिवमाया तुम्बाहाम्फेको नाम अगाडि आएको छ ।

सम्बन्धित खबरहरु