काठमाडौ । महिलालाई हैरानी दिएको अभियोगमा प्रहरी प्रधान कार्यालय साईबर ब्यूरो भोटाइटीबाट खटिएको प्रहरीले २ जनालाई मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका–४ पारिजात पथ बस्ने ३६ वर्षीय अस्लम अन्सारी र गोरखा सुलिकोट गाउँपालिका–५ बारपाक घर भई हाल ललितपुर गोदावरी नगरपालिका–११ चापागाउँ बस्ने २० वर्षीय रोलक वहादुर थापा रहेका छन् ।

अस्लमलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर समेतको सहयोगमा हेटौंडाबाट र रोलक बहादुरलाई ललितपुरबाट पक्राउ गरिएको हो । अस्लमले मकवानपुर घर भई बैङ्ककको थाईल्याण्ड बस्ने आफ्नै महिला साथीको आपत्तिजनक तस्बिर तथा भिडियो फेक आईडी तथा ई–मेलबाट वयश्क साईट समेतमा अपलोड गर्नुको साथै ती तस्वीर तथा भिडियोहरु उक्त साईटबाट हटाउनको लागि १ हजार ९८ अमेरिकी डलर माग गरी अनेकौँ गर्दै दुस्ख हैरानी दिने कार्य गरेको खुल्न आएको छ ।

साथै रोलकले फेसबुकमा फेक आईडी बनाई आफन्त तथा नजिकका साथीहरूलाई आपत्तिजनक सन्देश तथा तस्बिर पठाउने, अनर्गल सामग्री पोष्ट गरी अपमान गर्ने, हैरानी दिने कार्य गरेको अनुसन्धानबाट खुल्न आएको छ । पक्राउ परेका व्यक्तिहरू उपर थप अनुसन्धान भईरहेको उक्त ब्यूरोले जनाएको छ ।

सम्बन्धित खबरहरु