काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्मा विस्तार गरी पद तथा गोपनियताको सपथ गराउनुभएको छ । सपथ ग्रहणमा सभामुखको हैसियतमा अग्नीप्रसाद सापकोटा पुग्नुभएको छ । उहाँको समूहले ओली इतर व्यबहार गरिरहँदा राजपाठको हैसियतमा भने सापकोटा चुक्नुभएन ।

 

उहाँ सपथ ग्रहण समारोहमा समावेश हुनुभयो । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्मा अधिकांश नयाँ अनुहार समेटिनुभएको छ । केही मन्त्री भने यसअघि पनि राज्यको महत्वपूर्ण जिम्मेवारी सम्हालिसक्नुभएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाउनुभएका टोपबहादुर रायमाझीले यसअघि पनि उपप्रधानमन्त्रीसहित सोही मन्त्रालय सम्हाल्नुभएको थियो । संविधान निर्माण लगत्तै विसं २०७२ मा वर्तमान प्रधानमन्त्री ओलीको पहिलो कार्यकालमा रायमाझीले सो मन्त्रालय सम्हाल्दा ऊर्जा, सङ्कटकालीन कार्ययोजना ल्याएर नेपालको ऊर्जा तथा जलस्रोतको क्षेत्रमा नयाँ आयामको शुरुआत गर्नुभएको थियो ।

कूल ९९ बुँदे सो कार्ययोजनाको आधारमा नै विद्युत्भार कटौतीलगायतका योजना अगाडि बढेका थिए । विसं २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा अर्घाखाँचीबाट ५० हजार ८३७ मतसहित निर्वाचित हुनुभएका रायमाझी दोस्रो पटक ऊर्जा मन्त्रालयको जिम्मेवारी सम्हाल्न लाग्नुभएको हो ।

शहरी विकास मन्त्रालयमा प्रभु साहको पनि दोस्रो कार्यकाल हो । तीन पटक सांसद र संसदीय समितिको सभापति रहिसक्नुभएका साहले यसअघि नै कानून न्याय तथा संसदीय मामिला, भूमिसुधार र शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

 

खानेपानी मन्त्रीको जिम्मेवारी सम्हाल्न लाग्नुभएका मणिचन्द्र थापा पहिलो पटक राजकीय जिम्मेवारीमा आउनुभएको हो । तत्कालीन नेकपा ९माओवादी० ले सञ्चालन गरेको जनयुद्धमा गीत सङ्गीतमार्फत योगदान गर्नुभएका नेता थापा नेकपा भित्र बौद्धिक नेताका रुपमा चिनिनुहुन्छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरी पनि दोस्रो पटक मन्त्री बन्नुभएको छ । यसअघि पनि उहाँले कृषि विकास मन्त्रीको रुपमा जिम्मेवारी सम्हाल्नुभएको थियो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्ना नेकपाका नेता तथा विघटित प्रतिनिधिसभाको सांसद हुनुहुन्थ्यो । दार्चुलाबाट राष्ट्रिय राजनीतिमा स्थापित हुनुभएका ठगुन्नालाई कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतको क्षेत्रको राम्रो ज्ञान रहेको छ ।

 

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले पनि नेकपाका नेता तथा विघटित प्रतिनिधिसभाका सांसद हुनुहुन्छ । डोटी जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने आलेलाई नेकपाभित्र निडर नेताका रुपमा लिइन्छ । विसं २०७४ को निर्वाचनमा नवनियुक्त मन्त्री आलेले ३२ हजार ५१० मत प्राप्त गरी विजयी हुनु भएको थियो ।

 

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतो पनि पहिलो पटक राजकीय जिम्मेवारी सम्हाल्न लाग्नुभएको हो । त्यस्तै युवा तथा खेलकूद मन्त्रीको जिम्मेवारी सम्हाल्न लाग्नुभएका दावा लामा पनि पहिलो पटक मन्त्रिपरिषद्मा समेटिनुभएको छ । विसं २०६४ को संविधानसभा सदस्य रहनुभएका लामा २०७४ मा भएको प्रदेशसभा सदस्यको निर्वाचनमा भने पराजित हुनुभएको थियो ।

 

सम्बन्धित खबरहरु