काठमाडौं । पहिलो चरणको कोरोनाभाइरस विरुद्धको चिनियाँ खोप टर्कीमा बुधबार भित्रिएको छ । चीनमा विकास गरिएको सिनोभ्याक ३० लाख मात्रा टर्कीको राजधानी अङ्करामा ल्याइएको अधिकारीहरूले जानकारी दिएका छन् । आधारभूत प्रक्रिया पूरा गरेपछि सो खोप आम नागरिकलाई लगाइदिने सरकारको योजना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

टर्कीका स्वास्थ्य मन्त्री फर्हेटिन कोकाले सामाजिक सञ्जाल ट्वीटर मार्फत खोप स्वदेश भित्रिएको र चाँडै नै जनताले पाउने जानकारी दिनुभएको छ । परीक्षण सम्पन्न हुनासाथ जतिसक्दो चाडो यो खोप आम नागरिकलाई प्रदान गर्ने सरकारको योजना छ, हामी त्यही अनुसारको तयारी गरिरहेका छौँ, उहाँले लेख्नु भएको छ ।

टर्कीमा मङ्गलबार मात्रै थप १५ हजार ८०५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको थियो भने अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या २१ लाख ७८ हजार ५८० पुगेको छ । कोरोनाका कारण टर्कीमा अहिलेसम्म २० हजार ३८८ जनाको मृत्यु भएको छ । तीमध्ये २५३ जनाको मङ्गलबार मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

सम्बन्धित खबरहरु