एकिकृत नेकपा माओवादी सहित ३० दलीय मोर्चा, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीको संयुक्त बन्दकर्ता र सुरक्षाकर्मीबीच ठाउँठाउँमा दोहोर झडप भएको छ । नयाँ बानेश्वरमा दोहोर झडप भएको छ । बन्दमा सवारी कुदाएको भन्दै यूएनको मोटरसाइकल तोडफोड गरेपछि सुरक्षाकर्मीले हस्तक्षेप गर्न खोज्दा दोहोरो झडप भएको थियो ।झडपका क्रममा समाचार एजेन्सी एपीका पत्रकार उपेन्द्रमान सिंह, नेपाल पार्टीका अमुल थापा तथा अंकज ढकाल घाइते भएका छन् । सिंहले बोकेको क्यामेरा फुटेको छ । बन्दकर्ताले यूएनको ७१०२२३ नम्बरको मोटरसाइकलमा तोडफोड गरेका हुन् ।बन्दकर्ताहरु आक्रमक भएर सडकमा उत्रिएका छन् । समाचार सम्प्रेषणका लागि गएका सञ्चारकर्मीलाई बन्दकर्ताले धरपकड गर्न थालेका छन् । बन्दको प्रभावबारे फोटो खिच्न गएका सञ्चारकर्मीलाई पनि बन्दकर्ताले लखेटेका छन् ।
बागबजारमा स्कुटर तोडफोड, चालक घाइते
बन्दकर्ता बागबजारमा एक स्कुटर तोडफोड गरेका छन् । ओम बुक्स डिस्टिव्युटरकी सञ्चालिका रहेको श्रीमती गंगा चित्रकार सवार बा ४६ प १८७५ स्कुटरमा बिहान पौने सात बजे बन्दकर्ताले आगजनी गरेका हुन् ।
बागबजारको एनसीसी बैंक अगाडि स्कुटरमाथि आगजनी गर्दा चित्रकार पनि घाइते भएकी छन् ।
बन्दले देशैभरको जनजीवन प्रभावित बनेको छ । बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताहरु विहानै देखि सडकमा उत्रिएर प्रदर्शन गरिरहेका छन् । बन्दकर्ताहरुले बनस्थलीको ढुंगेधारामा ट्याक्सी आगजनी गरेको छ, त्यस्तै गरी गुह्येश्वरीमा एउटा बस र वीर अस्पताल अगाडि एउटा मोटर साईकल तोडफोड गरेका हुन् ।उपत्यका बाहिरका जिल्लाहरुमा पनि बन्दकर्ताहरुले केही सवारी साधनमाथि तोडफोड गरेका छन् । पोखरामा बन्दकर्ताहरुले एक यात्रुबाहक बसमा तोडफोड गरेका छन् । बन्दकर्ताले ग १ ज २९५९ नम्बरको बसमा आगजनी गरेका छन् । राजधानी भित्रका कुनै पनि पसल खुलेका छैनन् । दैनिक उपभोग्य वस्तुहरु सहज रुपमा वितरण भएका छैनन् । गाडी नचलेपछि यात्रुहरु हिडेर नै गन्तब्यतर्फ लागिरहेका छन् ।
सोमबार राति अबेर सम्म पनि असहमतिको गाँठो नफुकेपछि, संविधान सभा भवन भित्र सभासदहरुबीच नै मुठभेडको अवस्था सिर्जना भएपछि दलिय मोर्चाहरुले मंगलबारको बन्द ठप्प पारेका हुन् । संविधानसभा भित्रको प्रमुख प्रतिपक्षी दल एकीकृत माओवादीका सभासदहरुले मच्चाएको वितण्डाको कारण एमाओवादी कार्यकर्ताहरु सडकमा पनि उग्र हुने डरले जनजीवन त्रसित बनेको छ ।